Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकालाई भाज्या पुखुको प्रतिवेदन हस्तान्तरण

२०७५ चैत १७ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भक्तपुर नपा वडा नं. १ स्थित ऐतिहासिक भाज्या पुखु जीर्णोद्धार समितिका संयोजक प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले आइतबार प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

प्रतिवेदन बुझ्दै नगर प्रमुख प्रजापतिले इतिहाससँग जोडिएका सम्पदाको अध्ययन अनुसन्धान नयाँ पुस्ताको निम्ति ज्ञानको स्रोत हुने र सांस्कृतिक सम्पदाहरूको ऐतिहासिक प्रमाण संकलन आवश्यक भएको बताउनुभयो ।

सम्पदा संरक्षणमा अगाडि बढेको जिल्लाको रुपमा भक्तपुर नगरपालिकाले परिचय दिन सफल हुँदै गएको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले भाज्या पोखरीको उत्खनन्मा सहयोगी भूमिका खेल्ने सबै सरोकारवालाहरूप्रति आभार प्रकट गर्नुभयो । उहाँले भक्तपुरको सर्वाङ्गीण विकासमा ध्यान दिएर अगाडि बढिरहेको बताउनुभयो ।

प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले १२ औं शताब्दीमा बनेको भाज्या पुखुको अन्तिम प्रतिवेदन इतिहासविद्, संरक्षणविद्, जनप्रतिनिधि, नपाका शाखा प्रमुखहरू र विभिन्न क्षेत्रका सरोकारवालाहरूको रचनात्मक सुझाव तथा टिप्पणीलाई समावेश गरी तयार गरेको जानकारी दिनुभयो ।

इतिहास विज्ञानसम्मत हुने र भाज्या पोखरी काठमाडौंको रानी पोखरीभन्दा करिब पाँच सय वर्ष पुरानो भएको र पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको अनुसन्धानले पुष्टि गरेको उहाँले बताउनुभयो । सो अध्ययनले भक्तपुरको इतिहासबारे महŒवपूर्ण पक्ष थाहा हुन आएको र भाज्या पोखरी विभिन्न कालखण्डमा संरक्षण र पुनःनिर्माणको कार्य हुँदै आएको पनि अनुसन्धानले देखाएको छ भन्नुभयो ।

भक्तपुर नगरपालिकाले मिति २०७५-४-२९ गते बसेको बोर्ड बैठकले प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका प्रमुख मोहनसिंह लामा, राष्ट्रिय कला संग्रहालयका प्रमुख सरस्वती सिंह, इतिहासविद् प्रा. विश्वमोहन जोशी, सम्पदा शाखाबाट सूर्यभक्त खर्बुजा र भनपा सम्पदा शाखा प्रमुख आ.इ. रामगोविन्द श्रेष्ठ सदस्य रहेको रहेको समिति गठन गरेको थियो ।

उक्त समितिले सात महिना लगाएर प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनअनुसार भाज्या पुखु निर्माण कार्य अगाडि बढ्ने नगरपालिका स्रोतले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.