Explore news and happenings at Bhaktapur

सुर्योदय सेकेन्डरी स्कूलको ३९ औं वार्षिकोत्सव

२०७५ चैत २ गते, शनिबार

0

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अभिभावकको पहिलो रोजाई सस्तो र गुणस्तरीय शिक्षा हुने र सेवा भावको उद्देश्यले शैक्षिक संस्थाहरुको स्थापना हुनुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापना गरी समाजलाई बुद्धिजिवीकरण गर्ने उद्देश्यसहित कार्य गरिरहेको उहाँले बताउनुभयो ।

सुर्योदय माविको ३९ औं वार्षिकोत्सवको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले विद्यार्थीलाई पारिवारिक दबाबमा नभई उसको क्षमता र इच्छाअनुसार विषय छनौट गर्न दिएमा विद्यार्थीको प्रगति हुने, किताबी ज्ञानसँगसँगै व्यवहारिक र अतिरिक्त कृयाकलापमा सकृय बनाइराख्नुपर्ने बताउनुभयो । उहाँले नगर सफा र व्यवस्थित बनाउन नगरवासीहरु नै सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृृति, सम्पदा संरक्षण, खेलकुद, राजनीतिबारे नयाँ पुस्तालाई जानकारी दिन स्थानीय पाठ्यक्रम लागू गरेको बताउनुहुँदै स्थानीय पाठ्यक्रम लागू गर्ने देशकै पहिलो स्थानीय तह भक्तपुर नगरपालिका भएको औंल्याउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थीहरुको सिकाई कहिल्यै समाप्त नहुने बताउँदै सम्वृद्ध र सुखी देश निर्माणको लागि विद्यालयस्तरबाट इमान्दार, अनुशासित र कर्तव्यबोध नागरिक तयार गर्नुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरुको एकरुपताको लागि शैक्षिक क्यालेन्डर प्रकाशन गरी आफ्नो गतिविधिलाई अगाडि बढाउने र विद्यालयको अनुगमन र नियमनमा जोड दिइरहेको बताउनुभयो ।

सुर्याेदय माविका सञ्चालक महेन्द्र गोपाल कर्माचार्यले विद्यालय स्थापनाको आधार, इतिहास र उद्देश्यबारे प्रष्ट पार्दै शिक्षामा भइरहेको व्यापारीकरणको विरोध गर्नुभयो ।

विद्यालयका प्रअ विजय कर्मचार्यले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्याव्सन भक्तपुर जिल्ला कार्य समितिका सचिव कुमार श्रेष्ठ, एन.प्याव्सन भक्तपुरका जी.बी. खड्का, प्याव्सन भक्तपुर नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजगोपाल कर्माचार्यलगायतले संस्कारयुक्त शिक्षाको आवश्यकता औंल्याउँदै कमजोर विद्यार्थीको मनोबल बढाउन हौसला दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले विद्यालयका उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.