Explore news and happenings at Bhaktapur

भाज्या पुखु

प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ

0

भक्तपुर पोखरीहरूको पनि सहर हो । यस सहरको पश्चिमतर्फ वडा नं. १ मा ठूला पोखरीहरू छन् । तःपुखु (सिद्धपोखरी), नःपुखु (गुह्यपोखरी), रानी पुखुलगायत भाज्या पुखु (भाज्या पोखरी) यसका उदाहरण हुन् । धार्मिक–सांस्कृतिक दृष्टिले मात्र नभएर ऐतिहासिक एवम् पुरातात्विक दृष्टिले समेत यी पोखरीहरू महत्वपूर्ण छन् । नेपालमण्डल (काठमाडाँै उपत्यका) मा रहेका ठूला पोखरीहरूमध्ये भक्तपुर नगरपालिका वडा नं.१, दूधपाटी टोलका पोखरीहरू पनि अपवाद होइनन् ।

मध्य भागमा सुरिलो शिखर मन्दिरसहितले सुरम्य हुने गरी बनेका दुर्लभ पोखरीहरूका प्रसङ्गमा, नेपालमण्डलका प्राचीन, ठूला पोखरीहरूमध्येको एक माउ पोखरी भाज्या पुखु हो भनी मान्न सकिन्छ । ईस्वीको बा¥हौँ शताब्दीमा यो पोखरी बनेको थियो । भक्तपुरले नेपालमण्डलको राजधानी बन्ने सुरसार कसेको समयतिर सिद्धपोखरीसँगसँगै त्यसकै समीपमा बनेको पोखरी यो थियो । यस पोखरीको बीचमा शिखर शैलीको सुन्दर मन्दिर थियो । हाम्रो अन्वेषणबाट सो मन्दिर शिवमन्दिर रहेको थाहा हुन्छ । जलाशयको मध्तगमा बनेको मन्दिरमा स्थापित शिवलिङ्गलाई सांस्कृतिक जीवनले जलेश्वर महादेवको रूपमा मान्दै–पुज्दै आएको पाइन्छ । कान्तिपुरस्थित रानीपोखरीको शिवलिङ्ग होस् वा भक्तपुर दधिकोटस्थित चरखण्डीस्थानको खोलाको मध्तगमा स्थापित प्रकृतिउत्पन्न स्वयम्भूलिङ्ग होस् वा जनकपुरधामको महोत्तरी जिल्लाको जलका महादेव होस्† ती सबै जलेश्वरकै रूपमा पुजिंदै आएको पाइन्छ । जलका ईश्वर जलेश्वर !

भक्तपुर सहरभित्र साना पोखरीहरू छन् । सहरबाहिर भने भार्वाचो भेकमा मात्र ठूला पोखरीहरू तःपुखु, भाज्या पुखु, नःपुखु, रानी पुखु छन् ।१ यो भेक अन्यत्र स्थानको तुलनामा केही उच्च भागमा छ । त्यस्तै भक्तपुर सहरबाहिर पूर्वमा पनि यीभन्दा केही साना तर सहरभित्रका अन्य पोखरीहरूका तुलनामा ठूला पोखरीहरू छन् । यातुबहारे पुखु (कमलपोखरी) र लामगाल पुखु यसका उदाहरण हुन् । यसरी सहरी बस्तीबाहिरका उच्च भागमा किन ठूला पोखरीहरू बनेका होलान् भन्ने कुरा विचारणीय छ । यस कुराको उत्तर ललितपुर र कान्तिपुरका ठूला पोखरीहरूलाई पनि प्राचीन सहरी बस्ती बसाइका परिप्रेक्षमा हेरेर खोज्नुपर्ने हुन्छ । तसर्थ कान्तिपुर सहरबाहिर पूर्वमा नागपोखरी, रानीपोखरीलगायत ललितपुर सहरबाहिर दक्षिणमा सप्तपाताल र कुमारीपाटी भेकको तःपुखु नमुनाका रूपमा लिन सकिन्छ । नेपालमण्डलका यी ठूला पोखरीहरूको मूल जलस्रोत आसपासको उच्च भागबाट बहने खोला वा नदीको मुहानबाट राजकुलो हुँदै अन्य ठूलो कुलोबाट आउने पानीलगायत एवम् वर्षाकालमा जम्मा हुने पानी पनि हो भन्ने देखिन्छ । माथिबाट मुन्तिर बग्नु पानीको प्राकृतिक–नियम हो । जे होस्† यी ठूला पोखरीहरू यसको आसपासका साना सहायक पोखरीहरू, इनार, ढुङ्गेधारा, कुवा आदिका पनि स्रोत हुन् र त्यसकै निदानको लागि यसरी ठूला पोखरीहरू बनेका हुन् भन्ने कुरा जानिन्छ । त्यसैगरी सहरभित्रको विशेषगरी भार्वाचो, इताछेँमा पोखरीका पानी विशेष निकासका माध्यमबाट ढुङ्गेधारा, कुवा, इनारमा पठाएर, सदाकाल पानीको प्रबन्ध सबैतिर सर्वसुलभ ढङ्गले भइरहोस् भन्नाको लागि, सहरबाहिरका खेतहरूमा पानी लाउनका लागि, आसपासका दिगुद्यःहरूको पूजा प्रबन्धका लागि पवित्र जल लिन, तीर्थस्नान गर्न आदि अनेक बहुउपयोगका लागि बनेका हुन् भन्ने कुरा दृष्टिगोचर हुन्छ ।२ कान्तिपुरको रानीपोखरी होस् वा भक्तपुरको भाज्या पुखु होस् † ठूला पोखरीहरूका आसपासमा सहायक पोखरीहरू, ढुङ्गेधारा, कुवा, इनार, जलद्रोणी आदि मूल पोखरीहकै अभिन्न अङ्गकै रूपमा रहेका हुन्छन् । ती पनि पोखरी वास्तुकै अभिन्न अंश हुन् भन्ने कुरा बिर्सनु हुन्न । पोखरीमा पानी जम्मा भएपछि वा भरिभराउ भएपछि बढ्ता भएको पानी बाहिर जाने निकास पनि बनेका हुन्छन् । सिद्धपोखरीको बढी भएको पानी यसको सहायक इनमा पुखुमा जम्मा हुन्थ्यो । सिद्धपोखरीको केही पर उत्तरमा भिरालो परेको भागमा कुवा छ । नःपुखुको बढी भएको पानी यसको सहायक कालदहचामा जम्मा हुन्छ । कान्तिपुरको रानीपोखरी आसपासमा सहायक पोखरी र ढुङ्गेधाराहरू छन् । हाम्रो भाज्या पुखु पनि यस कुराको अपवाद होइन । असगःहिति, बजिगांचाहिति, मिवा हिति यसका उदाहरण हुन् । भाज्या पुखुको दक्षिणतर्फका खेतका कान्लाहरूमा केही दशक अघिसम्म कुवाहरू थिए । भार्वाचोमै पनि इनार र जलद्रोणीहरू छन् । सहर पस्ने पश्चिमाभिमुख सेतो भार्वाचो ध्वाका सामुन्नेको कुनामा मध्यकालीन ढुङ्गेधाराको कलात्मक सुन्दर टुटो परित्यक्त अवस्थामा देख्न सकिन्छ । वर्षाकाल बित्न लाग्दा पनि पानी नपरेर हाहाकार हुन पुग्ने जनजीवनले ‘हर हर महाद्यः वा वय् द्यः’ भनी यी नै पोखरीहरू परिक्रमा गर्न जाने संस्कृति आज पनि जीवन्त छ । यसप्रकार यी उदाहरण–प्रमाणहरूका आधारमा भाज्या पुखुमात्र नभएर नेपालमण्डलका ठूला पोखरीहरू एउटै अभिप्रायले मात्र नभएर अनेक बहुउपयोगी अभिप्रायले अनेक माध्यमबाट सर्वत्र जल वितरण गर्न बनेका विशेष जलभण्डार हुन् भन्ने कुरा थाहा पाइन्छ । यी मन हर्ने जलाशयहरू तत्कालीन समयमा सहरी सुन्दरता, शोभा र प्रतिष्ठाका प्रतीकमात्र नभएर राजनैतिक कूटनैतिक जमघटलगायत सांस्कृतिक विधिविधान सम्पन्न गर्ने खुला आकाशमुनिका प्रकृति र पर्यावरणमैत्री वातावरणसित सुहाउने खुला तीर्थस्थल थिए ।

पूर्वमध्यकालीन नेपालको राजधानी सहर भक्तपुरका दुई ठूला पोखरीहरूबाट प्रेरित भएर नेपालमण्डलमा साना–ठूला पोखरीहरू परवर्तीकालका अनेक कालखण्डमा बनेका हुन् भनी मान्न सकिन्छ । भाज्या पुखुको अन्वेषण र उत्खनन हुनु अघिसम्म हामीलाई पनि लागेको थियो कि वास्तुशैली उस्तै मिलेकाले कान्तिपुरको रानीपोखरी (ने.सं.७९०÷वि.सं.१७२७)) बाट पे्ररित भएर भाज्या पुखु बनेको हुनुपर्छ । तर भाज्या पुखु रानीपोखरीभन्दा करीब पाँचसय वर्ष पुरानो देखिन आयो । कुरा त स्पष्ट छ, नेपालमण्डलको राजनैतिक विभाजनपछि स्वतन्त्र राज्यका रूपमा देखापरेका तीन मल्ल राज्यबीच एकले अर्कोलाई उछिन्ने कलाकृति बनाउने प्रतिस्पर्धात्मक–प्रवाह चल्यो । कान्तिपुरको रानीपोखरी पनि त्यस कुराको एउटा सुन्दर उदाहरण हो । राजनीतिले राज्यलाई विखण्डन गर्नसक्छ, संस्कृति र संस्कारलाई होइन । भक्तपुर त तीनवटै राज्यको मूल राजकीय बासस्थान थियो । राजनैतिक रूपले कान्तिपुर र ललितपुर भक्तपुरबाट छुट्टिएर गए तापनि सांस्कृतिक रूपमा छुट्टिएको थिएन । सारा मल्लहरूको वा भनौ नेपालमण्डलको सांस्कृतिक मूल थलो भक्तपुर नै थियो । आफ्नो मूल बासस्थानका उच्चतम देवीदेवताहरूका प्रतिरूपहरूलाई ललितपुर र कान्तिपुरका मल्ल राजाहरूले आ–आफ्नो राज्यमा प्रतिष्ठापित गर्दै लगे । यसो हुँदा राजा प्रताप मल्लले आफ्नो पुर्खाको मूल थलोको भाज्या पुखुलाई हेरेर त्यस्तै, तर त्योभन्दा पनि दुई गुना ठूलो हुने गरी रानीपोखरी बनाई छाडे । रानीपोखरी भाज्या पुखुकै तर बृहत् आकारको सुन्दर प्रतिरूप थियो ।

भाज्या पुखुको मध्य भागमा मन्दिर थियो भन्ने कुरा हाम्रो अन्वेषण र उत्खनन अघिसम्म पनि कसैलाई थाहा थिएन । यो कुरा महत्वपूर्ण र विचारणीय थियो । सो मन्दिर मल्लकालको उत्तराद्र्धतिर आइपुग्दा नै जीर्णोद्धारको अभावमा भत्किएर, विस्मृतिमा परेर डम्फुमा परिणत हुनपुगेको थियो । यसैकारण मल्लकालपछिका पुस्ताले त्यहाँ मन्दिर थियो भन्ने कुरा बिर्सन पुगे । यस्तो प्रतीत हुन्छ, यसको विनाशको कारण प्राकृतिक र राजनैतिक दुवै थियो । ने.सं.८०१ (वि.सं.१७३८) मा नेपालमण्डलमा ठूलो भूकम्प गएको थियो । त्यसले धेरै क्षति भएको थियो । सो भूकम्पले यो मन्दिर पनि त्यसैबेला भत्किएको हुनुपर्छ । विनासले विकास र सिर्जना पनि लिएर आएको हुन्छ । त्यसपछि भक्तपुरका राजा जितामित्र मल्ल र उनका छोरा भूपतीन्द्र मल्लको ध्यान जीर्णोद्धार, पुनर्निर्माण र नवनिर्माणतिर विशेष गएको देखिन्छ । भक्तपुर सहरको सुन्दरीकरण पनि यी नै बाबुछोराको पालामा विशेष भएको देखिन्छ । हाम्रो भाज्या पुखु पनि त्यतिबेलाका भार्वाचो टोलका भार्वाचो कसको नेतृत्वमा जीर्णोद्धार भयो होला । तर त्यसपछि भने मल्ल राजाहरूबीच चलेको राजनैतिक कलह, आक्रमण–प्रत्याक्रमण एवम् त्यसपछिको गोर्खाली आक्रमणहरूका कारण अन्य कलाकृतिलगायत भाज्या पुखुको संरक्षण, संवद्र्धन गर्नेतर्फ चाहेर पनि कसैको ध्यान गएन । वि.स. १८२६ मा गोर्खालीहरूले भक्तपुर जितेपछि मल्ल राज्यको पतन भयो । त्यसपछि भने यो झनै विरानो र परित्यक्त बन्न पुग्यो । पोखरीलगायत मन्दिरका अवशेषहरू यताउति परे, यसका सुन्दर र आकर्षक भागहरू मानिसहरूले उठाएर लगे, योसित अभिन्न रूपले जोडिएर रहेका आसपासका सम्पदा, खुला स्थानहरू, चउरहरू, पाटी आदि पनि हराए । वर्तमानमा यो यसरी पोखरीमै खुम्चिएर रहनु प¥यो । आज फेरि एकपल्ट यसको सपनाझैं लाग्ने सत्य, सुन्दर र शोभामय विगत वर्तमानमा भक्तपुर नगरपालिकाको नेतृत्वमा काम हुन गइरहेको छ । यसरी भक्तपुर नगरपालिकाले पोखरीको जीर्णोद्धार एवं मन्दिरको पुनःनिर्माण गर्न लागिपरेको छ । यो वर्तमान इतिहासको सुन्दर एवं अनुकरणीय, अविस्मरणीय पक्ष रहनेछ ।

१. इनागाः र दूधपाटी नाम परवर्ती कालमा विकसित हुनपुगेका भार्वाचो–संस्कृतिकै अंश हुन् । वर्तमानमा सिद्धपोखरी र भाज्या पुखु दूधपाटी टोलमा छन् भने तापनि यी पोखरीहरू मध्यकालीन भार्वाचो भेकमा थिए भन्ने कुरा बिर्सनु हुन्न ।
२. मध्यकालमा देश रक्षाका लागि नेपालमण्डलका तीनवटै सहरहरू गढ रूपमा बनेका थिए । सहरी गढ–बस्तीलाई खाई, ठाउँ–ठाउँमा सहर पस्ने ढोकासहितका अग्ला पर्खालले घेरिएको हुन्थ्यो । कान्तिपुर र ललितपुरमा भक्तपुरको तुलनामा धेरै परिवर्तन आइसकेकोले पुरानो सहरी संस्थान बुझ्न गा¥हो भएको तर भक्तपुरमा भने पुरानो सहरको संस्थानसँग परिचित गराउने केही अंशहरू, चिह्नहरू बाँकी नै रहेको कुरा इतिहासकार धनबज्र बज्राचार्यले यसरी पोखेका छन् “भक्तपुरमा डुलेपछि पुरानो सहरको संस्थानबारे यसभन्दा बढ्ता कुरा हाम्रो आँखाको सामुन्ने आउँछन् । भक्तपुर सहरभित्र कतैबाट पस्दा उकालो चढेर जानुपर्छ, कतैबाट पस्दा ओ¥हालो लागेर जानुपर्छ । भक्तपुर सहरको बाहिर उत्तरभेकमा खाईको केही अंश अहिले पनि भेटिन्छ । सहर पस्न लाग्दा ठाउँ–ठाउँमा सहरको बाहिरी भेकमा अग्ला अग्ला पर्खालको केही अंश अहिले पनि भेटिन्छ । यी सब पुरानो सहरको संस्थानसँग हामीलाई परिचित गराउने चिह्नहरू हुन् ।”

बज्राचार्यले भक्तपुर सहर डुलेर लेखेको उक्त कुरा पनि आज ५४ वर्षको अन्तरालमा आएर इतिहास भएको छ । आधा शताब्दी पछिको भक्तपुर सहरमा पनि धेरै परिवर्तन आइसकेको छ । अब पुरानो सहरको संस्थानलाई सम्झाउने सहर पस्ने ढोकाका चिह्नबाहेक खाई र पर्खालका चिह्नहरू हराइसकेका छन् । जे होस् ! ‘खाई’ले हामीलाई तत्कालीन किल्ला वा सहर वा देश रक्षाका निमित्त वरिपरि खनेर पानी भरिएको खाडल भन्ने सम्झाउँछ । आधा शताब्दीअघि व्यासीको खेतका किनारामा लहरै पूर्व पश्चिम लाम्चो परेर गएका छिपछिपे हिलोमाटोले पुरिनै खाडलहरूमा हिलेमाछा मारेको सम्झना मलाई पनि छ । त्यो खाडल देश रक्षाका लागि बनेको ‘खाई’ रहेछ भन्ने कुरा आज आएर थाहाँ पाएँ । अब त्यहाँ खाई पनि छैन, खेत पनि छैन, सवारी साधनले व्यस्त भएका पीच सडक र टन्नै घरैघरहरू उठेका छन् । मलाई लाग्छ, ती खाईहरूमा पानी भर्नका लागि पनि सहरबाहिरका उच्च भागमा ठूला पोखरीहरू बनेका हुन् । अर्को कुरा, पानीका सीमाले घेरेको सुरक्षित ठाउँ जलदुर्ग हो भन्ने कुरा जानिन्छ । उत्तरमा खासाङखुसुङ खोला र दक्षिणमा हनुमन्ते खोलाको बीचमा बसेको सहर भक्तपुर हो । सहर पस्दा खोला नतरी सुखै छैन । यताबाट पनि त्यस बखत भक्तपुर जलदुर्गको रूपमा रहेको प्रतीत हुन्छ । यस बारेमा बेग्लै अध्ययन हुनु जरूरी देख्छु ।
क. धनबज्र बज्राचार्य, मल्लकालमा देश रक्षाको व्यवस्था र त्यसप्रति प्रजाको कर्तव्य’, पूर्णिमा, २÷२०२१, पृष्ठ २२ ।

साभार ः मजदुर दैनिकबाट

Leave A Reply

Your email address will not be published.