Explore news and happenings at Bhaktapur

वागीश्वरी कलेजमा अनुसन्धान लेखन र प्रकाशनसम्बन्धी तालिम सम्पन्न

भक्तपुर, २०७५ चैत २८ गते विहिबार ।

0

वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको अनुसन्धान लेखन र प्रकाशनसम्बन्धी तीन दिने तालिम बिहिबार समापन भएको छ ।

समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै पनि नीति तथा योजना बनाउन अनुसन्धान अत्यावश्यक हुने बताउनुभयो ।
“संविधान बनाउँदा विभिन्न देशमा लागू गरेको सङ्घीयता राम्रोसँग अध्ययन गरेको भए नेपालको सङ्घीयताले अहिलेको जस्तो डामाडोल हुने थिएन”, उहाँले भन्नुभयो ।
सरकार चलाउने दलले अनुसन्धानलाई प्राथमिकता नदिएको स्पष्ट पार्दै उहाँले सहभागी तालिमबाट प्राप्त ज्ञानलाई समाजको हितमा प्रयोग गर्न शिक्षकहरूलाई सुझाव दिनुभयो ।
भक्तपुर नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयलाई नमुना बनाउन शिक्षकहरूलाई तालिम, अनुसन्धानलाई प्राथमिकता र शिक्षामा बजेट बढाएको उहाँले जानकारी दिनुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले अनुसन्धानमूलक लेख प्रकाशन गर्न धेरै मिहिनेत गर्नुपर्ने आवश्यकता औंल्याउँदै देश र समाजको विकासमा अनुसन्धानले टेवा पु¥याउने आशा व्यक्त गर्नुभयो ।
वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले वागीश्वरी कलेजले अनुसन्धानको क्षेत्रमा पाइला चालेको जानकारी दिनुभयो ।
वागीश्वरी अनुसन्धान विभागका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि कृष्णहरि प्रजापति, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, स्रोतव्यक्ति डा. बलराम दुवाल, सहभागी प्रतिनिधहरू रामेश्वरी बखुन्छेँ, बलराम गुभाजू, चन्द्रप्रसाद ढकाललगायतले बोल्नुभएको थियो ।

प्रमुख अतिथि प्रजापतिले सहभागी तथा सहयोगीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.