Explore news and happenings at Bhaktapur

भाज्या पोखरी काठमाडौंको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

२०७५ फागुन २७ गते, सोमबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार ऐतिहासिक भाज्या पोखरी जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा इतिहासविद्, संरक्षणविद्, जनप्रतिनिधि, नपाका शाखा प्रमुखहरू र विभिन्न क्षेत्रका सारोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले तत्कालीन सरकारहरूले सम्पदा संरक्षणमा ध्यान नदिंदा वा संरक्षण नगर्दा कयौं सम्पदाहरू लोप भइसकेको बताउनुहुँदै पोखरी, पाटी–पौवा, सत्तललाई समेत निजी बनाउने र सार्वजनिक सम्पदाहरू तथा पर्ति जग्गाहरू किबचेन हुन थालेकोमा आपत्ति व्यक्त गर्नुभयो ।

सांसद सुवालले जिम्मेवार पदमा बस्नेहरूले गरेको गल्तीले देशलाई अपूरणीय क्षति पुग्ने बताउनुहुँदै सम्पदाहरूको ऐतिहासिकताबारे अध्ययन–अनुसन्धान गरी जीर्णोद्धार र पुनःनिर्माण कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार खर्चिलो र चुनौतीको विषय भएको औंल्याउनुहुँदै सांसद सुवालले मानव सभ्यताको विकासलाई जोडेर भाषा, सभ्यता र वास्तुकलाको संरक्षण आवश्यक भएको बताउनुभयो ।

पुर्खाले सिर्जेको सभ्यताको प्रतिक सम्पदा नयाँ पुस्ताको लागि संरक्षण गर्नु हाम्रो दायित्व भएको बताउनुहुँदै स्वच्छ वातावरण कायम गर्न, प्रदूषण नियन्त्रणको निम्ति पोखरीले महŒवपूर्ण भूमिका खेलेको र त्यसको उचित सरसफाइको आवश्यकता भएको सांसद सुवालले औंल्याउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका पुरातात्विक र ऐतिहासिक महŒव बोकेका सम्पदाहरूको संरक्षण गर्ने भावनाले भक्तपुर नगरपालिकाले केही दशक अगाडिदेखि सम्पदा संरक्षणतर्फ पाइला चालेको बताउनुहुँदै प्राचीन स्मारक संरक्षण ऐनलगायत सम्पदा संरक्षणसम्बन्धी ऐन नियमहरू, सम्पदाविद्, इतिहासविद् र संस्कृतिविद् तथा स्थानीय जनताको अनुभवलाई मार्गदर्शनको रुपमा लिई अगाडि बढेको बताउनुभयो ।

सिद्धपोखरी जीर्णोद्धारको अनुभवलाई ध्यानमा राखी पानी चुहिने सम्भावना भएका पोखरीका छेउमा कालोमाटो भर्ने र पोखरीको बीच भागमा भएको मन्दिरबारे अध्ययन–अनुसन्धानमा ध्यान दिएको बताउनुहुँदै प्रमुख प्रजापतिले भाज्या पुखु काठमाडौंको रानी पोखरीबाट प्रभावित भएर भाजु कसले बनाएको किंबदन्ती भए पनि भाज्या पोखरी काठमाडौंको रानी पोखरीभन्दा करिब ५०० वर्ष पुरानो देखिएको प्रतिवेदनमा उल्लेखित बुँदाबारे थप छलफलको आवश्यकता महसुस गरी कार्यक्रम आयोजना गरेको स्पष्ट पार्नुभयो ।

ऐतिहासिक भाज्या पोखरी जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदनले भाज्या पोखरीको नयाँ इतिहास सुरु हुने बताउनुहुँदै प्रमुख प्रजापतिले अध्ययन–अनुसन्धानबाट पत्ता लागेअनुरुप गुणस्तरीय ढंगले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नगरभरिका पोखरी पुनःनिर्माण र जीर्णोद्धारको थालनी गरिरहेको बताउनुहुँदै भाज्या पुखुको प्रारम्भिक प्रतिवेदनअनुरुप यसको पुनःनिर्माण कार्य अगाडि बढ्ने बताउनुभयो ।

इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले १२ औं शताब्दीमा बनेको भाज्या पोखरीको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले इतिहास विज्ञानसम्मत हुने र अध्ययन–अनुसन्धानले रानी पोखरी र भाज्या पोखरीले एकले अर्कोलाई हेर्ने ऐनाको रुपमा प्रस्तुत भएको विचार प्रस्तुत गर्नुभयो ।

भाज्या पोखरी काठमाडौंको रानी पोखरीभन्दा करिब पाँच सय वर्ष पुरानो अनुसन्धानले देखाएको बताउनुहुँदै संस्कृतिकविद् श्रेष्ठले पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रस्ट पार्नुभयो ।

भक्तपुर जिल्लाका प्रजिअ नारायणप्रसाद भट्टले भक्तपुर नगरपालिका जनताको नजिकको सरकारको रुपमा स्थापित भएको र यस अनुसन्धानले पुनःनिर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भविष्यमा भक्तपुर विश्वको मौलिकता बोकेको सहर र अध्ययन अनुसन्धानको लागि उपयुक्त सहरको रुपमा विकास हुने धारणा राख्नुभयो ।

कार्यक्रममा पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहालले पुरानै आकारप्रकारका इँटा बनाउन लगाई मौलिकता जोगाउनेतर्फ ध्यान दिनु उचित भएको बताउनुभयो ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भाज्या पुखुको अन्तिम प्रतिवेदन प्राप्त भएपछि पुस्तकको रुपमा प्रकाशन गर्न आग्रह गर्दै भाषिक संस्कार र संस्कृति उजागर गर्ने अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रा.डा. मोहनमूर्ति पन्थले भाजु पोखरीको मौलिक र विशिष्ट स्थान रहेको उल्लेख गर्दै १२ औं शताब्दीका मौलिक शैलीमा निर्मित विभिन्न ठाउँको वस्तुहरुको सोधखोज गरी त्यसको आधारमा पोखरी र पोखरीबीचको मन्दिर निर्माणमा अगाडि बढ्नु राम्रो हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुरातत्व विभागका पूर्वनिर्देशक लक्ष्मणराज ज्ञवाली, गुठी संस्थानका निर्देशक मीनराज चौधरी, पुरातत्व विभागका प्रमुख हरि सुवेदी, प्रेमसिंह बस्न्यात र दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका प्रतिनिधि कल्पना प्रजापतिले पनि आज प्रस्तुत प्रतिवेदनबारे आ–आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.