Explore news and happenings at Bhaktapur

विद्यार्थीहरूलाई बधाई ज्ञापन

२०७५ फागुन ११ गते, शनिबार

0

 

 

नेपाल क्रान्तिकारी विद्यार्थी संघ ३ वडा समिति, भक्तपुरको आयोजनामा शनिबार भनपा वडा नं. ३ बाट २०७३, ०७४ र ०७५ सालमा प्रमाणपत्र तह, स्नातक तह, स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजले देशभरका विद्यार्थीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरी देशको लागि आवश्यक जनशक्ति तयार गरिरहेको बताउनुभयो । उहाँले संघीयताको अर्थ स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउनु रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सरकार र विदेशी सहयोग विना नै पुनःनिर्माणका कार्यलाई अगाडि बढाइरहेको बताउनुहुँदै भक्तपुर नगरपालिकाले अमानत र उपभोक्ता समितिमार्फत गुणस्तरीय निर्माणहरू गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले ख्वप अस्पताल तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने जानकारी दिनुहुँदै प्रमुख प्रजापतिले पुरानो सहरलाई मौलिक स्वरुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको बताउनुभयो । उहाँले नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखी नगरको १० वटै वडामा शारीरिक व्यायामका सामग्री जडान भइरहेको जानकारी दिनुभयो ।

नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाइँले नयाँ पुस्तालाई पुरानो पुस्ताले देश र जनताको हितमा काम गर्न प्रेरणा दिनुपर्ने, स्वार्थी प्रवृत्ति बढिरहेको समाजलाई रुपान्तरण गर्न सामाजिक भावना जगाउने कुराको प्रचार युवा पुस्तामा गराउनुपर्ने र विद्यार्थीहरूलाई विद्यावारिधिसम्मको शिक्षा हासिल गर्न उत्साहित बनाउनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले नेपाल क्रान्तिकारी विद्यार्थी संघले विद्यार्थीहरूको सर्वा·िण विकास, अनुशासन र सैद्धान्तिक स्तर उठाउने उद्देश्यले काम गर्दै आएको र विद्यार्थीलाई देशको सेवा गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।

ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले ख्वप इञ्जिनियरिङ कलेजले देशको लागि आवश्यक दक्ष इञ्जिनियरहरू उत्पादन गरिरहेको र कलेजको गुणस्तर वृद्धि गर्न निरन्तर अग्रसर रहने बताउनुभयो ।

बधाई ज्ञापन कार्यक्रममा नेमकिपा ३ नं. वडा समन्वय समितिका संयोजक रामसुन्दर खाताखो, नेक्राविसंघका केन्द्रीय सदस्य सर्जु फसिकव, नेक्राविसंघ नगर समितिका अध्यक्ष प्रविण प्रजापति, कार्यक्रमका सभापति मनिस गोरा, रोशन गोरालगायतले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले भनपा वडा नं. ३ बाट विभिन्न तहमा उत्तीर्ण र उत्कृष्ट करिब एक सय विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रमपश्चात सांस्कृतिक प्रस्तुतिहरु देखाइएको थियो ।

Leave A Reply

Your email address will not be published.