Explore news and happenings at Bhaktapur

भनपा प्रमुख सुनिल प्रजापतिसँग नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यको भेटघाट

भक्तपुर, २०७५ फागुन ९ गते विहीबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक एवं कार्यक्रम कार्यान्वय उपसमितिका उपाध्यक्ष सुरज वैद्यको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले विहीबार भेट गर्‍यो ।


भेटघाटमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न भक्तपुरको मौलिक संस्कृतिलाई नेपालको राष्ट्रिय पर्यटनको आकर्षणको रुपमा अन्तर्राष्ट्रिय पर्यटन बजारमा ब्राण्डिङ्ग गरी प्रचार प्रसार गर्ने र सो को लागि आवश्यक तयारीको विषयमा छलफल भयो । साथै यसलाई सफल पार्न सम्बन्धित विभिन्न संघसंस्थाहरु र सरोकारवालाहरुको सहकार्य, समन्वय र सहयोग हुनुपर्ने विषयमा पनि दुई पक्षबीच छलफल भयो ।
छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुको आफ्नै स्रोतबाट तीब्र गतिमा पुननिर्माण गरिरहेको र यहाँका मौलिक सँस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबर्द्धनको लागि विभिन्न कार्यक्रम र योजनाहरु कार्यान्वयन गरिरहेको जानकारी गराउनुभयो । उहाँले भेटमा पर्यटनका पूर्वाधारहरु पर्यटक बसपार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्र र सेवा केन्द्रहरुको निर्माण गरी पर्यटकहरुलाई सेवा प्रदान गरिरहेको जानकारी गराउनुहुँदै सम्पदा क्षेत्रको विशेष सरसफाई, हकर्स नियन्त्रण, सवारी निषेध लगायतका कार्य गरी भक्तपुरमा पर्यटकीय वातावरण तयार गरिरहेको बताउनुभयो ।
भेटमा संयोजक वैद्यले नेपाल भ्रमण वर्ष २०२० को नारा Lifetime Experience अन्तर्गत २० पर्यटकीय स्थलहरुको व्यवस्था गर्ने बताउनु हुँदै साँस्कृतिक पर्यटनको लागि भक्तपुर छनौट भएको जानकारी गराउनुभयो । उहाँले पर्यटक बसाई लम्ब्याउन Bhaktapur By Night कार्यक्रम छनौट गरी सो अन्तर्गत नमस्ते सेन्टर खोल्ने र सम्पदाहरुमा बत्तिको व्यवस्था गर्ने योजना रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.