Explore news and happenings at Bhaktapur

ख्वप अस्पतालको शिलान्यास

२०७५ फागुन ९ गते, बिहीबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आज भक्तपुरनपा वडा नं. ९ च्याम्हासिंहस्थित निर्माणाधिन ख्वप अस्पताल भवनको शिलान्यास गर्नुभयो ।


शिलान्यास कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले पैसा कमाउने र भ्रष्टाचार गर्ने उद्देश्य भएकाहरूले देश र समाजको हितमा काम गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो । पैसा कमाउने उद्देश्य भन्दा सेवा भावले काम गर्न अभिप्रेरित हुनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष बिजुक्छेंले भक्तपुर अस्पतालको स्तरोन्नति हुन नसक्नुमा सरकार जिम्मेवार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘सरकारले राम्रो अस्पताल बनाएन भने नक्कली अस्पतालले जनतालाई दुःख दिन्छ । पुँजीवादी व्यवस्था भनेको निजी व्यवस्था हो र सरकारले निजीलाई पृष्ठपोषण गरी कामगरी खाने जनतालाई दुःख दिइरहेको छ ।’
भक्तपुर अस्पतालमा झाडाबान्ताबाट पनि बिरामीहरू मर्ने गरेको सम्झना गर्दै समयमा उपचार सेवा नपाउँदा विगतका दिनमा स्थानीय जनताहरुले अकालमा ज्यान गुमाउनु परेको जानकारी गराउनुहुँदै नेता बिजुक्छेँले उपचारको अभावमा कसैको ज्यान जान नदिन ख्वप अस्पतालको निर्माणले महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
सबैले इमानदारीपूर्वक काम गरे भक्तपुरलाई नमुना नगरको रुपमा विकास गर्न सक्नेमा जोड दिंदै देशभरिका जनताको सेवा गर्ने भावनाले नमुना अस्पतालको रुपमा विकास गर्ने योजनाले अगाडि बढ्न आह्वान गर्नुभयो ।

नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले देशमा संघीयता लागु भए पनि केन्द्रीकृत मानसिकताअनुसार नै संघीय सरकार सञ्चालन हुनु गलत भएको बताउनुभयो ।

उहाँले देशमा निजी अस्पतालको संख्या बढिरहेको अवस्थामा भक्तपुर नगरपालिकाले अस्पताल सञ्चालन गर्नु जनताको हितमा रहेको बताउनुभयो । निजी क्षेत्रले मात्र काम गर्दा सरकार र जनता कमजोर हुने बताउनुहुँदै सांसद सुवालले वर्तमान सरकार जनताको सरकारको रुपमा सञ्चालन हुन नसकेको बताउनुभयो ।

 

नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताल निर्माणको लागि अार्थिक वर्ष २०७५।७६ मा १४ करोडको बजेट छुट्याएको र ख्वप अस्पताल निर्माणमा सरकारी र कुनै विदेशी लगानी नभएको स्पष्ट पार्दै प्रमुख प्रजापतिले नगरपालिकाको बजेट र नगरवासीको सहभागितामै अस्पतालको निर्माण कार्य अगाडि बढ्ने बताउनुभयो ।
उहाँले भक्तपुरको जनस्वास्थ्य केन्द्रमा सुविधासहित इमर्जेन्सी सेवा, आँखा अस्पताल र आर्युवेदिक उपचार केन्द्रमार्फत सस्तो र सुलभ रुपमा विभिन्न उपचार सेवा प्रदान गर्दै आएको स्मरण गराउनुभयो ।

 

नेमकिपाका तर्फबाट प्रदेशसभा सांसद सृजना सैंजुले स्वास्थ्य र शिक्षा जस्ता जनताका आधारभूत आवश्यकताहरू जनताको पहुँचबाट टाढा गइरहेको समयमा नेमकिपाको नीतिअनुरुप भक्तपुर नपाले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन ख्वप अस्पताल निर्माणको थालनी गर्नु सकारात्मक भएको बताउनुभयो ।
कुनै पनि अस्पताल व्यापारको निम्ति नभई जनताको सेवाको निम्ति सञ्चालन हुनुपर्नेमा जोड दिंदै सांसद सैंजुले जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारले देखाएको उदासिनताप्रति खेद प्रकट गर्नुभयो ।

 

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप अस्पताल वातावरणमैत्री, अपा·मैत्री, भूकम्प प्रतिरोधी, सुविधा सम्पन्न र व्यवस्थित ढंगले सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल, ज्योतिष बिरेन्द्रप्रसाद कायस्थ र नेपाली सेनाका उपरथी भरत खड्काले पनि बोल्नुभएको थियो ।

 

 

 

 

 

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले ख्वप अस्पतालमा आकस्मिक सेवा, एक्सरे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, एम.आर.आइ, प्याथोलोजी प्रयोगशाला, प्रसुति सेवा, शल्यक्रिया, सघन उपचार विभाग, बेस्मेन्टमा पार्किङ, शव गृहलगायतका सेवा तथा सुविधाहरू उपलब्ध हुने जानकारी गराउनुभयो । नवनिर्मित ख्वप अस्पतालको भवन ३ वर्षभित्रमा निर्माणसम्पन्न गर्ने योजना रहेको भनपाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.