Explore news and happenings at Bhaktapur

“सहिदहरुको सपना र बलिदान दुरुपयोग भइरहेको छ” – सांसद सुवाल

२०७५ फागुन ८ गते, बुधबार ।

0

भक्तपुर । नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा बुधबार, २०४६ सालमा सहादत प्राप्त गर्ने भक्तपुरका सहिदहरुको सम्झनामा प्रवचन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शासकहरुले सहिदहरुको सपना र बलिदानको दुरुपयोग गरिरहेको आरोप लगाउनुभयो । सहिदहरु देश र जनताको लागि बलिदान दिने र देशका सम्मानित व्यक्तित्व भएको बताउनुहुँदै सांसद सुवालले सहिदहरुको सपनाअनुसार प्रतिबद्ध भई काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पैसा लिएर गलत व्यक्तिलाई सांसद बनाउँदा नेपालको संसद भ्रष्टाचारी, हत्याराको हातमा जाने आशंका व्यक्त गर्नुहुँदै सांसद सुवालले प्रहरीको पक्राउ सुँचीमा परेका अपराधीहरुलाई सांसद बनाइ सपथ ग्रहण गराउने सरकारको गलत कदमको आलोचना गर्नुभयो ।
सांसद सुवालले कम्युनिष्ट नामधारी शासक दलहरुकै कारण गणतन्त्र बद्नाम र कमजोर भइरहेको र भ्रष्टाचार, अनियमितता र पक्षपातले देशलाई अझ पछाडि धकेलिरहेको बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा राजतन्त्र र गणतन्त्रमा कुनै भिन्नता नहुने बताउनुहुँदै सांसद सुवालले गणतन्त्रमा निर्वाचित राजाहरुको उदय भइरहेको र वर्तमान सरकार भारतको दलाल सरकारको रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
राजनैतिक कार्यकर्ताको मुख्य भूमिका भनेको असंगठित कामदार वर्गलाई राजनैतिक विचार र समाजवादी विचारबाट प्रतिबद्ध बनाई पुँजीवादको विरुद्ध आन्दोलनको तयारी गर्नु रहेकोमा उहाँले जोड दिनुभयो ।
उहाँले पुँजीवादी सरकारमा गई लुटपाट गर्ने पार्टीहरु सच्चा ‘कम्युनिष्ट’ पार्टी हुन नसक्ने बताउनुहुँदै देशको छिटो विकासको निम्ति समाजवादी व्यवस्थाको स्थापना अपरिहार्य भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहिदहरुको बलिदानले प्रजातन्त्र र पुँजीवादी गणतन्त्र प्राप्त भएको बताउनुहुँदै सहिदहरुको सपना पुरा गर्न आफ्नो क्षेत्रबाट देश र समाजको निम्ति इमानदारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
केन्द्रीय सरकारको व्यवहारले राज्यसत्ता गुण्डा, तस्कर, बलात्कारीको हातमा जाने चिन्ता व्यक्त गर्नुहुँदै प्रमुख प्रजापतिले सरकारको कार्यशैली सहिदहरुको भावनाअनुकुल चल्न नसकेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सहिदहरुको भावनाअनुरुप प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिताहरु आयोजना गरिरहेको बताउनुहुँदै देशको प्रजातन्त्रको निम्ति रगत बगाएका सहिदहरुको विषय स्थानीय पाठ्यक्रममा समावेश गरी अध्ययन–अध्यापन गराउने काम गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्ले नेपाल मजदुर किसान पार्टीको उद्देश्य सहिदहरुको भावनाअनुसार देशमा समाजवादी गणतन्त्र स्थापना गर्ने र देशको सार्वभौमिकता रक्षा गर्नु रहेको बताउनुभयो ।
उहाँले नेपालको सार्वभौमिकता उच्च भए पनि भारतीय विस्तारवादले नेपाललाई दबाइरहेको बताउनुहुँदै नेमकिपाले देशमा समाजवादी बन्दोबस्त स्थापना गर्न भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरुद्धमा निरन्तर संघर्ष गर्दै जाने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नयाँ पुस्तालाई सहिदको त्याग र बलिदानबारे सुसूचित र युवाहरुलाई राजनैतिक शिक्षाबाट अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका पूर्व अध्यक्ष रविन्द्र खर्बुजा, नेपाल क्रान्तिकारी महिला संघका नेतृ रोशनमैया सुवाल, नेक्राकिसंघका गोविन्द दुवाल, २०४६ सालको जनआन्दोलनका घाइते सत्यसम्मोहन राजोपाध्यायलगायतले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, जनआन्दोलनका सहिद परिवारका सदस्यहरु, घाइतेहरु र स्थानीय जनताको उल्लेख्य सहभागिता रहेको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.