Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा पसल व्यवसायीहरूको भेला

भक्तपुर, २०७५ फागुन १ गते, बुधबार ।

0

 

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नपा वडा नं. ३ र ४ का पसल व्यवसायीहरूको भेला सम्पन्न भयो ।

भेलामा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनको अज्ञानता क्षम्य नहुने र कानुनको अवज्ञा गर्नेहरू दण्ड–सजायको भागिदार हुने बताउनुभयो । उहाँले व्यवसायीहरूमा पसल दर्ता समयमा गर्न, व्यवसाय कर समयमै तिर्न र अखाद्य वस्तु बिक्री वितरण नगर्न आह्वान गर्नुभयो ।

भक्तपुर नगरपालिकाले पसल व्यवसायीहरूलाई कारबाही गर्नको निम्ति नभई गुणस्तरीय सेवा प्रदानमा लक्षित गर्दै बजार अनुगमनलाई व्यवस्थित रुपमा सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
व्यापार व्यवसाय नाफाको निम्ति गरे पनि जनस्वास्थ्यमा असर पुग्ने अखाद्य मिसावट र म्याद नाघेका खाद्य सामग्री बिक्री नगर्न अनुरोध गर्नुहुँदै प्रमुख प्रजापतिले घर–घरबाट नै कुहिने÷नकुहिने फोहर संकलनको लागि छुट्टाछुट्टै बाल्टिन वितरण गर्दै आएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ३ का वडाअध्यक्ष एवम् बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराले म्याद नाघेका, अखाद्य वस्तु र मिसावटयुक्त खानेकुराले जनताको स्वास्थ्यमा नराम्रो असर हुने बताउनुहुँदै पसलबाट निस्कने फोहरहरूको उचित व्यवस्थापन गर्न व्यवसायीहरूमाझ आह्वान गर्नुभयो ।

भक्तपुर नपा वडा नं. ६ का वडाअध्यक्ष हरिराम सुवालले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बजार अनुगमनमा तीव्रता दिएको बताउनुभयो । उहाँले बजार अनुगमन समिति गठन, कार्यविधि, काम–कर्तव्य र अधिकार तथा दण्ड जरिवाना विषयमा प्रस्तुतीकरण देखाउनुभएको थियो ।

भेलामा पसल व्यवसायीहरूले सूर्यविनायक क्षेत्रमा तारको उचित व्यवस्थापन गर्नुपर्ने, पीचको खाल्डाखुल्डीलाई पुर्नुपर्ने र ठाउ–ठाउँमा फोहर फाल्ने बाल्टिनको व्यवस्था गर्नुपर्नेलगायतका सुझावहरु दिनुभएको थियो ।
कार्यक्रममा श्यानिटेशन शाखाका प्रमुख दिलिपकुमार सुवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.