Explore news and happenings at Bhaktapur

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले शासकहरूलाई भ्रष्ट पारेको छ— प्रमुख प्रजापति

बाँके, ३ फागुन ।

0

‘जनताको प्रजातन्त्र, समाजवाद र साम्यवादको लागि सङ्घर्ष गरौं’ भन्ने मूल नाराका साथ शुक्रबार सुरू भएको नेपाल मजदुर किसान पार्टीको प्रथम बाँके जिल्ला सम्मेलन पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो ।

बाँकेको कोहलपुर नगरपालिकामा आयोजित खुला सभाबीच उद्घाटन भएको सम्मेलनमा बोल्दै प्रमुख प्रजापतिले ओली सरकारले समाजवादी चरित्र देखाउन नसकेको भनी आलोचना गर्नुभयो । निजीकरणको नीतिलाई निरन्तरता दिने सरकार कम्युनिष्ट वा समाजवादी सरकार हुन नसक्ने चर्चा गर्दै उहाँले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले शासकहरूलाई भ्रष्ट पारेको धारणा राख्नुभयो ।

“नेकपा र काङ्ग्रेस दुवैले गैसस र अगैससमार्फत् साम्राज्यवादी शक्तिको दलाली गरिरहेका छन् ।”, उहाँले भन्नुभयो ।
सत्तासीन दलले प्रजातन्त्रको नाममा गुण्डा, तस्कर र ठेकेदारलाई पोस्न काम गरिरहेको भन्दै केन्द्रीय सदस्य प्रजापतिले प्रजातन्त्र शासक दलको निम्ति बाँदरको हातमा नरिवल बनेको बताउनुभयो ।

उहाँले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले प्रतिपक्षीको भूमिका प्रभावकारी ढंगले निभाउनुको सट्टा सरकारसँग भागवण्डाको लागि मोलमोलाई गर्नतिर लागेको बताउनुभयो ।
शासक दलले भारतीय बिस्तारवादको इशारामा नेपाली नागरिकता सिनेमाको टिकट जस्तै बाँडिरहेको चर्चा गर्दै भारतीय दुतावासले चाहेअनुसार नेपालमा मन्त्री नियुक्ति हुने गरेको बताउनुभयो ।

समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपाले लगातार सङ्घर्ष गर्दै आएको चर्चा गर्दै राजनीतिक र सैद्धान्तिक रुपमा सचेत जनताले नै देशमा समाजवादी आन्दोलनको नेतृत्व गर्ने विचार राख्नुभयो ।

नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले नेमकिपाले बोकेको सिद्धान्त र आदर्श नयाँ पुस्ताका युवाबीच व्यापक बनाउनुपर्ने धारणा राख्नुभयो ।

नेमकिपा बर्दिया जिल्ला समितिका अध्यक्ष हरिलाल न्यौपानेले सं.रा. अमेरिकाले सार्वभौम देश भेनेजुयलामाथि हमला गर्न अनेकन बहाना खोजिरहेको चर्चा गर्दै भेनेजुयलामाथिको हमलाको नेपाली जनताले पनि विरोध गर्नुपर्ने विचार राख्नुभयो ।

नेमकिपा सुर्खेत जिल्ला समितिका सचिव धनेन्द्र विकले पुँजीवादी पार्टीहरूले नेमकिपाको विषयमा अनेकन अनर्गल प्रचार गरेर जनताको आँखामा धुलो फाल्ने प्रयास गरिरहेको तर त्यस्ता प्रयास समाचारले झुट्टा प्रमाणित गर्ने धारणा राख्नुभयो ।

नेमकिपा प्रथम बाँके जिल्ला सम्मेलन तयारी समितिका संयोजक बखतबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा रत्नबहादुर शाही, गौरीकान्त आचार्यलगायतले बोल्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा नेमकिपा बाँके जिल्ला समितिका सदस्य दिवंगत गोमादेवी शाहीको सम्मानमा मौनधारण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.