Explore news and happenings at Bhaktapur

भक्तपुर रेटिना अध्ययन प्रतिवेदन सार्वजनिक

२०७५ माघ २८ गते सोमबार ।

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘भक्तपुर रेटिना अध्ययन प्रतिवेदन’ एक समारोहबीच संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले आँखालगायत विभिन्न रोगहरूबारे राजनैतिक कार्यकर्ताले बुझेमा धेरै जनताको सेवा हुने बताउनुहुँदै शिक्षकहरूमार्फत् विद्यार्थीहरूबीच स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
उहाँले हरेक विषय सानै उमेरमा सिकाउनुपर्नेमा जोड दिंदै आफूले रौतहटमा ६÷७ कक्षामा पढ्दा नेत्रदान कार्यक्रममा स्वयम् सेवकको भूमिका निर्वाह गरेको स्मरण गर्नुहुँदै त्यसबेला सुनेका कुराहरू ताजै रहेको बताउनुभयो ।
जनताको सेवा गर्न राजनैतिक कार्यकर्ताहरूले धेरै गर्न बाँकी छ– उहाँले भन्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा आँखाको स्थितिबारे अध्ययन गर्नुभएकोमा डा. रवा थापालगायतलाई धन्यवाद दिनुहुँदै भक्तपुरका जनताको सेवा लागि घर–घरमा नर्सिङ सेवा सञ्चालन गरिरहेको र ती नर्सहरूमार्फत् विभिन्न रोगहरूसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू गरी अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले नगरवासीहरूको स्वास्थ्य स्थितिबारे थाहा पाउन निश्चित समयावधि तोकी खास खास रोगहरूको स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुहुँदै प्रतिवेदनले भक्तपुरका जनताको आँखाको स्थितिबारे जानकारी पाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

शिक्षाशास्त्र अध्ययन संस्थानका पूर्वडीन पृथुचरण वैद्यले भक्तपुरमा आँखा अस्पताल बन्ने कुराले आफू हर्षित भएको बताउनुहुँदै आँखा स्वस्थ राख्न सबैलाई ज्ञान दिनुपर्छ भन्नुभयो ।

डा. सुमन शमशेर थापा र अध्यता रवा थापाले भक्तपुरको अध्ययनबारे जानकारी दिनुभयो । डा. रवा थापाले भक्तपुरका २१०० जना नागरिकसँग तीन वर्ष पुर्‍याएर आँखाको रेटिना सम्बन्धी रोगको अध्ययन गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख धिरज अधिकारीले केन्द्रले गर्दै आएको उपचारको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.