Explore news and happenings at Bhaktapur

विद्यार्थीहरू राजनैतिक रुपमा सचेत हुनुपर्ने

भक्तपुर, २०७५ माघ २४ गते, बिहीबार ।

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देशको सार्वभामिकता रक्षा गर्न अनुशासित नागरिक तयार गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको १५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेंले समाजलाई अगाडि बढाउन अनुशासित युवाहरूको आवश्यकता भएको, विद्यार्थीहरूमा देश र समाजको निम्ति निःस्वार्थ रुपमा काम गर्ने भावना हुनुपर्ने बताउनुभयो ।
शिक्षालाई उत्पादन श्रमसँग मिलाउनुपर्नेमा सरकारको ध्यान जान नसकेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेंले नयाँ पुस्ताका युवाहरूलाई राजनैतिक उद्देश्य बोकेर आफ्नो गन्तव्य पहिचान गर्न मार्गनिर्देशन दिनुभयो । देश अहिले दिशाहीन गतिमा अगाडि बढिरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै अध्यक्ष बिजुक्छेंले जुनसुकै क्षेत्रमा बसेर पनि इमानदारीपूर्वक काम गर्ने र आफूले हासिल गरेको ज्ञानलाई समाज र देशको सेवामा प्रयोग गर्ने युवाहरूको खाँचो औंल्याउनुभयो ।
कार्यक्रमका सभापति कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूले न्युन शुल्कमा गुणस्तरीय शिक्षा हासिल गरिरहेको र विद्यार्थीहरूलाई सीपमूलक शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
जनताका छोराछोरीले राजनीति गरेन भने शोषक सामन्तहरू राजनीतिमा अगाडि आउने भएकोले स्वच्छ छवि भएका इमानदार व्यक्तिहरू राजनीतिमा लागि राज्य र सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले नगरको १० वटै वडामा घरदैलो नर्सिङ सेवा सञ्चालन गरेको र च्याम्हासिंह स्वास्थ्य केन्द्रसँगै २५ शैय्याको ख्वप अस्पताल निर्माणको प्रक्रिया अगाडि बढिसकेको जानकारी उहाँले दिनुभयो ।
नेमकिपा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले देशलाई माया गर्ने, देश र समाज बुझ्ने असल नागरिकको खाँचो भएको बताउनुहुँदै राजनीतिक नेतृत्व राम्रो भए देशको भविष्य पनि सुन्दर हुने बताउनुभयो ।

नेमकिपा प्रदेशसभा सदस्य सृजना सै‌ंजुले संघीयताको सफल कार्यान्वयन हुन नसक्नुमा शासक दलहरू जिम्मेवार भएको बताउनुभयो । उहाँले महिलाहरू राजनैतिक रुपमा सचेत भई देश र समाजको सेवा गर्ने भावनाले अगाडि बढ्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले विद्यार्थीहरूले आफूले पाएको शिक्षाबाट देश र समाजको सेवा गर्नुपर्नेमा जोड दिंदै भक्तपुर नगरपालिकाको उद्देश्य भक्तपुरलाई सफा, स्वच्छ, सभ्य र शिक्षाको केन्द्र बनाउने रहेको बताउनुभयो ।

कार्यक्रममा सीटीईभीटीका उपाध्यक्ष कुलबहादुर बस्नेतले भक्तपुर नगरपालिकाले अरु नपाको तुलनामा उदाहरणीय कार्य गरिरहेको चर्चा गर्नुहुँदै प्राविधिक र व्यवसायिक शिक्षाले मुलुकको विकासमा मद्दत पुग्ने बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक ऋषिकेश श्रेष्ठले क्यान्सरको जोखिम भयावह बन्दै गएको अवस्थामा क्यान्सर रोकथामको निम्ति जनचेतनामूलक कार्यक्रमको आवश्यकता भएको औंल्याउनुभयो ।

ख्वप बहुप्राविधिक संस्थानका प्राचार्य रत्नसुन्दर लासिवाले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले देशको लागि दक्ष नागरिक तयार गर्न र शिक्षा क्षेत्रमा नमुना कलेजको रुपमा ख्वपअन्तर्गतका कलेजहरू शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले शैक्षिक वर्ष २०७५/७६ को तस्रो वर्ष परीक्षाफलमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थी तथा शैक्षिक वर्ष २०७५/७६ को सिभिल इञ्जिनियरिङ तेस्रो वर्ष दोस्रो खण्डको परीक्षाफलका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.