भक्तपुर नपा प्रमुख सुनिल प्रजापति धरान उपमहानगरपालिकामा
धरान, २०७५ माघ १४ गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार धरान उपमहानगरपालिका कार्यबाहक प्रमुख मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद पोखरेल, विशेष प्रशासकीय अधिकृत कल्याणीप्रसाद खतिवडासँग धरान उपमहानपाको सभाकक्षमा भेट गर्नुभयो ।
भेटमा प्रमुख प्रमख प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ५ गतेबाट अन्तरनगर कराँते प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी गराउनुहुँदै सो प्रतियोगितामा धरान नपाको सहभागिता रहनेमा आशा व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाले देशैभरका विद्यार्थीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । भक्तपुरका पुराना सम्पदाले नयाँ पुस्ताको सेवा गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगर सांस्कृतिक महत्व बोकेको र कलाकारहरुको सहरको रुपमा यसको पहिचान रहेको जानकारी गराउनुभयो ।
उहाँले कुनै ठाउँको विकास निर्माणका काममा स्थानीय जनताको सहभागिता र अपनत्व महत्वपूर्ण हुने बताउनुहुँदै भूकम्पबाट क्षतिग्रस्त मठ, मन्दिर, पाटी, पौवा, पोखरीलगायतका सम्पदाहरुको संरक्षण कार्य पनि विदेशीको सहयोग विना नगरपालिका स्वयम्ले नै गरिरहेको बताउनुभयो ।
भेटमा धरान उपमहानपाका कार्यबाहक प्रमुख चौधरीले धरान बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय सहर भएको र यहाँको विकास निर्माणका कार्यमा जनताको सहभागितालाई प्राथमिकता दिएर अगाडि बढिरहेको बताउनुभयो ।
धरान उपमहानपामा भूकम्पप्रतिरोधी भवन निर्माण संहिता कडाईका साथ लागु गरेको र यहाँको फोहरमैला निजी क्षेत्रमार्फत् व्यवस्थापन भइरहेको जानकारी दिनुभयो । धरान खेलकुद क्षेत्रमा धेरै अगाडि भएको जानकारी उहाँले गराउनुभयो ।
सो भेटमा भक्तपुर नपाका वडाअध्यक्षद्वय राजकृष्ण गोरा र श्यामकृष्ण खत्री, धरान उपमहानपाका जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।