Explore news and happenings at Bhaktapur

भक्तपुर नपा प्रमुख सुनिल प्रजापति र इटहरी उपमहानपाका प्रमुख द्वारिकालाल चौधरीबीच भेट

0

इटहरी, २०७५ माघ १४ गते, सोमबार

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार इटहरी उपमहानपाका प्रमुख द्वारिकालाल चौधरीसँग भेट गर्नुभयो ।

भेटमा प्रमुख प्रजापतिले एनजीओ/आइएनजीओले जनतामा मागेर खाने प्रवृत्ति विकास गरिरहेको बताउनुहुँदै भक्तपुर नपाले सरकारी र गैरसरकारी संस्थाहरुलाई निषेध गर्ने योजनाले काम गरिरहेको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेजले देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले नपाले २५ शैय्याको ख्वप अस्पताल निर्माण कार्य सुरु गरिरहेको जानकारी दिनुभयो ।

उहाँले नगरपालिकाभित्रका सामुदायिक आधारभूत विद्यालयहरुको शैक्षिक स्तर उठाउन शिक्षक–शिक्षिकाहरुलाई मन्तेश्वरीको सिकाइ प्रविधिको तालिम नियमित रुपमा सञ्चालन गरिरहेको बताउनुभयो । साथै नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुको भौतिक सुधारको लागि नपाले आर्थिक सहयोग प्रदान गर्दै आएको जानकारी उहाँले दिनुभयो ।

प्रमुख प्रजापतिले भन्नुभयो – ‘भक्तपुर नगरपालिका भक्तपुरको कला र संस्कृतिलाई व्यवसायीकरण गर्दै भक्तपुर नगरलाई सफा स्वच्छ सांस्कृतिक नगर, पर्यटकीय गन्तव्य र शिक्षाको केन्द्र बनाउने उद्देश्यले अगाडि बढिरहेका छौं ।’

भेटमा इटहरी उपमहानपाका प्रमुख द्वारिकालाल चौधरीले इटहरी महानपाले समाजको स्वामित्व कायम गर्ने पक्षमा काम गरिरहेको र नगरपालिकाले इटहरीको पर्यटकीय स्थलको विकासको निम्ति आर्थिक सहयोग र अनुदानको व्यवस्था गरेको बताउनुभयो ।

भेटमा भक्तपुर नगरपालिका वडा नं. १ का वडाअध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. ५ का वडाअध्यक्ष राजकृष्ण गोरा, इञ्जिनियर समाज नेपालका अध्यक्ष रविन्द्र फोंजु, नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सबिन ख्याजु, इटहरी उपमहानपा वडा नं. ६ का वडाअध्यक्ष दीपक गौतम, इटहरीका मानवअधिकारकर्मी गणेश खत्रीलगायतको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.