Explore news and happenings at Bhaktapur

देश र समाज केन्द्रित राजनीति गर्नुपर्नेमा जोड

0

राजविराज, २०७५ माघ १४ गते, सोमबार

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले समाजवादी आन्दोलन अगाडि बढाउन व्यापक जनता राजनैतिक रुपमा सचेत र संगठित हुन आवश्यक भएको बताउनुभएको छ ।

नेमकिपा सप्तरी जिल्ला समितिको आयोजनामा सोमबार राजबिराजमा सम्पन्न पत्रकार भेटघाटमा बोल्नुहुँदै प्रजापतिले नेमकिपा देश र समाज केन्द्रित राजनीति गर्नुपर्छ भन्ने उद्देश्यले अभिप्रेरित भएको बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीले नक्कली कम्युनिष्टहरुको तिखो आलोचना गर्दै सैद्धान्तिक रुपले जनतालाई सचेत गरिरहेको प्रस्ट पार्नुभयो ।

उहाँले नेकपाको सरकार समाजवादी सिद्धान्त विपरीत चलिरहेको नक्कली कम्युनिष्ट भएको बताउनुभयो । उहाले नेमकिपाको उद्देश्य नेपालमा पुँजीवादी व्यवस्थाको अन्त्य गरी जनताको प्रजातन्त्र, समाजवाद हुदै साम्यवादी समाज स्थापना गर्ने रहेको बताउनुभयो ।

तराईका गरिब किसान मजदुरहरुको पक्षमा नेमकिपाले क्रान्तिकारी भूमिसुधार लागु हुनुपर्ने, नेपालमै मल कारखाना स्थापना गर्नुपर्ने, तराईका कृषियोग्य जमिनमा सिंचाईको राम्रो बन्दोबस्त गर्नुपर्नेमा जोड दिइरहेको बताउनुभयो ।

उहाँले जनताको आर्थिक समानताका लागि राज्यले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नुपर्ने बताउनुहुँदै देशको सन्तुलित विकासको लागि विकेन्द्रिकरण र स्वायत्ततालाई प्राथमिकता दिनु आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘नागरिकता बस र सिनेमाको टिकट होइन । राजनैतिक अधिकारअन्तर्गत पर्ने नागरिकता र मताधिकारको व्यवस्था जस्ता संवेदनशील विषयमा सरकार सचेत हुनुपर्छ । विदेशीलाई नागरिकता दिंदा नेपालीहरु अल्पमतमा पर्न सक्ने कुराप्रति सचेत गर्दै नेता प्रजापतिले विदेशीलाई मताधिकारको व्यवस्था गर्नु गलत भएको बताउनुभयो ।’

कार्यक्रममा नेमकिपा सप्तरी जिल्ला समिति अध्यक्ष दिगम्बर यादवले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.