Explore news and happenings at Bhaktapur

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति लाहान नगरपालिकामा

0

लाहान, १३ माघ २०७५, आइतबार ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार सिरहा जिल्लाको लाहान नगरपालिकाका प्रमुख मुनी साह गुडीसग भेट गर्नुभयो ।

भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता राखेको र नपाकै स्वामित्वमा ६ वटा कलेज, १ वटा मावि र ६ वटा शिशुस्याहार केन्द्र सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले स्थानीय सरकार जनताको नजिकको सरकार भएको हुँदा स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

भक्तपुरका सरकारी विद्यालयको स्तरोन्नतिको लागि शिक्षक–शिक्षिकाहरुलाई विभिन्न प्रशिक्षणहरु सञ्चालन गरेको र कानुनले दिएको अधिकारभित्र बसेर शिक्षा ऐन लागू गर्दै भक्तपुर नगरपालिकाको शिक्षा क्षेत्रमा प्रगति गर्दै आएको बताउनुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल, सरसफाइमा नमुना नगर र कला–संस्कृति संरक्षित सांस्कृतिक नगर बनाउन जनप्रतिनिधिहरु क्रियाशील भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरको भाषा, लिपी, कला–संस्कृति, विभिन्न क्षेत्रका व्यक्तित्वहरुको जीवनी, खेलकुद, उपचार विधिहरु सम्मिलित स्थानीय पाठ्यक्रम लागू गरिसकेको बताउनुभयो ।

सोही भेटमा लाहान नगरपालिकाका प्रमुख मुनी साह गुडीले भक्तपुर नगरपालिका देशकै सानो नगरपालिका भए पनि सबै क्षेत्रमा व्यवस्थित विकास भएको र अरु नपाको लागि अनुकरणीय कार्य गरिरहेको बताउनुभयो ।

सिरहामा प्राविधिक कलेज सञ्चालन गर्न सम्बन्धन दिन सरकारले असहयोग गरेको बताउँदै व्यापारिक केन्द्रको रुपमा रहेको यस जिल्ला अहिले खाद्यान्न निर्यातमा कमजोर हुँदै गएको बताउनुभयो ।

भेटमा भक्तपुर नगरपालिका वडा नं. १ का वडाअध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. ५ का वडाअध्यक्ष राजकृष्ण गोरा, इञ्जिनियर समाज नेपालका अध्यक्ष रविन्द्र फोंजु, नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सबिन ख्याजुलगायत र सिरहा नगरपालिकाका वडाअध्यक्षहरुको पनि उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.