Explore news and happenings at Bhaktapur

सिराहामा नेपाल मजदुर किसान पार्टीको ४५ औं पार्टी स्थापना दिवस

0

सिराहा, १२ माघ २०७५, शनिबार ।

नेपाल मजदुर किसान पार्टीको ४५ औं पार्टी स्थापना दिवसको अवसरमा शनिबार सिराहाको लहानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

नेमकिपा सिराहा जिल्ला समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वर्तमान सरकार शोषक वर्गको सञ्चालक समितिको रुपमा काम गरिरहेकोको बताउनुभयो । उहाँले नेमकिपा देशमा समतामूलक समाज स्थापनाको निम्ति संघर्षरत रहेको र असल, सभ्य, अनुशासित नागरिक तयार गर्न अग्रसर रहेको बताउनुभयो ।

नेमकिपाले पुँजीवादी सत्तामा गएर समाजवाद आउनेजस्ता पुँजीवादी विचारलाई कहिल्यै स्विकार नगर्ने बताउँदै प्रमुख प्रजापतिले नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका वामपन्थी र दक्षिणपन्थी अवसरवादको विरोधमा निरन्तर सङ्घर्ष गर्दै कम्युनिष्ट आन्दोलनलाई सही बाटोमा हिडाउने काम गरिरहेको बताउनुभयो ।

नेमकिपाले विचारविनाको भिड बनाउनुभन्दा जनताको राजनैतिक चेतनास्तर माथि उठेका अनुशासित र सिद्धान्तनिष्ठ कार्यकर्ताहरू तयार गर्ने कोशिस गर्दैछ – प्रजापतिले भन्नुभयो ।
वर्तमान सरकार भारतको इसारामा चल्दा देश झन् झन् कमजोर भइरहेको बताउनुहु“दै उहाँले राजनीति पैसा कमाउन र पद पाउनको निम्ति नभई शोषितपीडित जनताको हितको निम्ति गर्नुपर्नेमा जोड दिनुभयो ।

पुँजीवादी व्यवस्था अन्त्य नभएसम्म समाजवादी व्यवस्था स्थापना हुन नसक्ने औंल्याउनुहुँदै नेता प्रजापतिले जनताको चेतनास्तर वृद्धि गर्न पार्टी प्रकाशनहरूको निरन्तर अध्ययन तथा अन्तरक्रिया आवश्यक भएको बताउनुभयो ।

नेमकिपा सिराहा जिल्ला अध्यक्ष विजयकुमार महत्तोले पुँजीपति वर्गको शोषणबाट मुक्त हुन कम्युनिष्ट आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेमकिपा सिरहा जिल्लाका उपाध्यक्ष सञ्जयकुमार सिंहले नेमकिपा गरिब, शोषित–पीडित जनताको पक्षमा आवाज उठाउने पार्टी भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर संघका केन्द्रीय सदस्य राजकृष्ण गोराले जनतालाई झुक्याउन देशमा नक्कली कम्युनिष्टहरू सक्रिय रहेको र नेपालको सच्चा कम्युनिष्ट पार्टी नेमकिपा नै रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सबिन ख्याजुले सत्तासीन पार्टीहरू पुँजीपति वर्गका प्रतिनिधि पात्रका रुपमा अगाडि बढिरहेको बताउँदै नेमकिपा संख्यामा सानो भए पनि विचार र सिद्धान्तमा सशक्त पार्टी भएको बताउनुभयो ।

कार्यक्रममा नेमकिपा सिरहा कोषाध्यक्ष हरिनारायण महत्तो, जिल्ला सदस्य श्रीलाल पासवान , नेपाल क्रान्तिकारी किसान संघ सिरहा जिल्ला अध्यक्ष शत्रुघन यादव, रञ्जुकुमारी सिंह, श्रीवती सदाय, पर्शुराम महत्तो, मोहन पासवान, आशिषकुमार कर्ण, रामबल्लभ दास र रिन्कु दासलगायतले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.