Explore news and happenings at Bhaktapur

नेपाल मजदुर किसान पार्टी ४५ औं वर्षमा प्रवेश

0

नेपाल मजदुर किसान पार्टीको ४५ औं स्थापना दिवसको अवसरमा बिहीबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टी काठमाडौं जिल्ला समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पार्टीको दीर्घकालीन उद्देश्य पूरा गर्न पार्टीले कानुनी र गैरकानुनी संघर्ष गर्दै आएको बताउनुहुँदै जनताको पक्षमा लड्नेहरुले ढिलो या चाडो विजय प्राप्त गर्ने धारणा व्यक्त गर्नुभयो ।

नेमकिपाले संसदमा भाग लिएर राष्ट्रघाती महाकाली सन्धी, १९५० को असमान सन्धी सम्झौताको विरोध र सरकारले ल्याउने हरेक जनविरोधी विधेयकहरुको विरोध गरी प्रखर प्रतिपक्षको भूमिका खेल्दै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।

उहाँले भन्नुभयो –‘मार्क्सवाद, लेनिनवाद र माओ त्से तुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मानी संघर्षका विभिन्न रुपहरुद्वारा चरणबद्ध तरिकाले समाजवाद स्थापना गरी साम्यवादी समाजसम्म पुर्याउने नेमकिपाको उद्देश्य हो ।’ सोही उद्देश्य पूरा गर्न २०३१ माघ १० गते नेमकिपाको स्थापना भएको उहाँले बताउनुभयो ।

उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेका वामपन्थी र दक्षिणपन्थी अवसरवादको विरोधमा निरन्तर संघर्ष गर्दै कम्युनिष्ट आन्दोलनलाई सही बाटोमा हिंडाउने काम नेमकिपाले गर्दै आएको बताउनुभयो ।

नेमकिपा भक्तपुर नगर समितिका संयोजक नारायणबहादुर दुवालले नेमकिपा स्थापनाको इतिहास र भूमिकाबारे जानकारी गराउँदै पार्टी कार्यकर्ताहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र देशको निम्ति समर्पित भावले काम गर्नुपर्ने बताउनुभयो ।

 

काठमाडौं जिल्ला समितिका सचिव राजबीर डंगोलले नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपाको भूमिका गौरवमय भएको बताउँदै पार्टी कार्यकर्ताहरुले पार्टी प्रकाशन र पत्रिकाहरुको निरन्तर अध्ययन र अन्तरक्रिया गरी सैद्धान्तिक स्तर उकास्नुपर्ने बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनको सभापतित्वमा सम्पन्न उक्त प्रवचन कार्यक्रममा काठमाडौं जिल्ला समितिका अध्यक्ष नरमान महर्जनले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.