Explore news and happenings at Bhaktapur

पर्ति जग्गा मिच्नु भ्रष्टाचार सरहकै अपराध हाे

0

भक्तपुर, २०७५ पौष २० गते शुक्रबार ।

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी स्थित १०८ रोपनी जग्गा संरक्षण शिलान्यास कार्यक्रम शुक्रबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका सचिव एवं प्रतिनिधि सभाका सांसद प्रेम सुवालले जग्गा संरक्षण गर्न पर्खालको शिलान्यास गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सुवालले पर्ति जग्गा तथा सार्वजनिक जग्गा मिच्नु भ्रष्टाचार गर्नु सरहको अपराध भएको बताउनुहुँदै स्थानीय जनताको सहयोग र सहभागितामा मात्रै संरक्षण र सम्बद्र्धन कार्य सफल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “भक्तपुर सहरलाई युनेस्कोले सम्पदा संरक्षण र सरसफाइ कार्यमा उल्लेखनीय योगदान गरेवापत पुरस्कार प्रदान गरेको थियो । ट्रान्सपेरेन्सी इन्टरनेशनलले सदाचारको टापु भनी सम्मान गरेको थियो ।” उहाँले विश्व सम्पदामा सूचिकृत यस ठाउँका सम्पदाहरुको संरक्षण र सम्बद्र्धनलाई निरन्तरता दिनु हाम्रो दायित्व भएको बताउनुभयो ।
भक्तपुर सल्लाघारीस्थित १०८ रोपनी जग्गा विगतमा जनताको जग्गा भएको र जनताकै हितमा यसको उपभोग गर्न पाउनुपर्नेमा जोड दिनुहुँदै साँसद सुवालले यसको संरक्षण र सदुपयोगको लागि संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यको आवश्यकता भएको धारणा राखनुभयो । उहाँले सार्वजनिक जग्गाहरु धेरै ठाउँमा अतिक्रमणमा परेको र किनबेच समेत भएको बताउनुहुँदै भक्तपुर नगरपालिकाको यस संरक्षण कार्यले जनताको हित हुने बताउनुभयो । उहाँले उपभोक्ता समिति क्रियाशील भएर संरक्षण कार्यमा लाग्नुपर्ने बताउनुहुँदै ठेकेदारहरुको निर्माण कार्यमा धेरै जनगुनासो सुनिएको हुँदा उपभोक्ता समितिले नै कम लागतमा बलियो निर्माण गरी पारदर्शी ढंगले काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

ख्वप विश्वविद्यालय विधेयक पास भए चिकित्सा शिक्षा सहितको विश्वविद्यालय स्थापना गर्ने योजना रहेको बताउनुहुँदै साँसद सुवालले विश्वविद्यालय स्थापनाबाट जनताका छोराछोरीले सस्तो र गुणस्तरीय शिक्षा प्राप्त गर्ने र देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रमका सभापति नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले भक्तपुरको सन्तुलित विकासलाई ध्यानमा राखेर काम गरिरहेको बताउनुहुँदै पर्ति जग्गा संरक्षण आवश्यक भएको र संरक्षणको अभावमा जग्गा अतिक्रमण भइरहेको बताउनुभयो । उहाँले यसको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएकोले संरक्षण कार्यको थालनी गरेको बताउनुभयो ।
उहाँले ख्वप विश्वविद्यालय स्थापनाको निम्ति सरकारसँग पटक पटक माग गरेको स्मरण गर्नुहुँदै यस ठाउँमा ख्वप विश्वविद्यालय स्थापना गरी देशकै लागि उदाहरणीय कार्य गर्ने योजना रहेको बताउनुहुँदै उहाँले स्थानीय जनता र सरोकारवालाहरुको पटक पटक आग्रह पश्चात आवश्यक छलफल गरी संरक्षण कार्य अगाडि बढाएको जानकारी गराउनुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सार्वजनिक जग्गा र सरकारी जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएको हुँदा १०८ रोपनी जग्गा संरक्षण, सरसफाइ र व्यवस्थापन गर्न भक्तपुर नपासँग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

उहाँले भक्तपुरको प्रवेशद्वारमा रहेको सबैको आँखा लाग्ने यस जग्गामा भएका अनियमित कार्यलाई रोक्नुपर्ने र भक्तपुर नपाले जग्गाको स्वामित्वबारे पनि आवश्यक प्रकुया अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठले भक्तपुर नपाको सबै सकारात्मक कदममा सदा साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।      

भनपाका उपप्रमुख रजनी जोशीको उपस्थिति रहेको उक्त कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, नं‌ ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी नारायण राजलवट लगायतले बोल्नुभएको थियो ।

अनुमानित लागत रु‍‍‍‍‍‍‍‍‍‍ ९८ लाख रहेको उक्त पर्खाल निर्माण कार्यमा जग्गाको चारैतिर चार फिट अग्लो पर्खाल निर्माण गर्ने र त्यसको माथि तीन फिटको जाली लगाउने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष राजलवटले जानकारी दिनुभयो ।

१०८ रोपनी जग्गाको प्राविधिक नक्सा

निर्माणाधिन पर्खालको नक्सा

प्रवेशद्वार

 

 

Leave A Reply

Your email address will not be published.