Explore news and happenings at Bhaktapur

धाँ बाजा प्रतियोगी टोलीका प्रतिनिधिहरुको भेला सम्पन्न

0

२०७५ पुस १९ गते, बिहीबार
भक्तपुर नगरपालिकाको आयोजनामा पुस २१ गते हुने नगरव्यापी धाँ बाजा प्रतियोगिताको तयारीस्वरुप बिहीबार नगरपालिकाको सभाकक्षमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको उपस्थितिमा धाँ बाजा प्रतियोगितामा सहभागी प्रतियोगी टोलीका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरको विकास निर्माण, सम्पदा संरक्षण, सरसफाइलगायतका कार्यहरूमा जनताको व्यापक सहभागिता भएको र सबै कार्य पारदर्शितापूर्वक अगाडि बढिरहेको जानकारी गराउनुभयो ।
भक्तपुरका जनताले गरेको आत्मगौरवको भावनाले भक्तपुरका सम्पदाहरूको संरक्षणमा टेवा पुगेको बताउनुहुँदै प्रमुख प्रजापतिले विदेशीको सहयोगलाई नभई जनताको सहभागितालाई प्राथमिकतामा राखेको बताउनुभयो ।
प्रसिद्ध भैरवनाथ मन्दिरको पुनःनिर्माण कार्यमा पुरातात्विक महत्त्व बोकेका पुराना निर्माण सामग्री प्रयोग भएको बताउनुहुँदै उहाँले धाँ बाजा प्रतियोगिता कसैसँग प्रतिस्पर्धाको लागि नभई संस्कृति संरक्षण र नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने प्रयत्नको रुपमा बुझ्न आवश्यक छ भन्नुभयो ।
भक्तपुर वडा नं. ६ का वडासदस्य गोविन्द दुवालले राज्यले संस्कृतिकर्मीलाई उचित संरक्षण गर्न नसकेको चर्चा गर्नुहुँदै नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्दै लानुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले प्रतियोगितामा पालना गर्नुपर्ने नियमबारे जानकारी दिनुभयो ।
शनिबार हुने धाँ बाजा प्रतियोगितामा ३७ वटा टोलीहरू सहभागी रहने नगरपालिका स्रोतले जनाएको छ । कार्यक्रममा प्रथम हुने टोलीलाई रू. ३०,००० नगद, धाँ बाजा एक थान, भूछ्या एक जोडी, शि छ्या १ जोडी, द्वितीय हुने टोलीलाई रू. २५,००० नगद, धाँ बाजा एक थान, भू छ्या १ जोडी, तृतीय हुने टोलीलाई रू. २०, ००० नगद, धाँ बाजा एक थान, शि छ्या १ जोडी र सान्त्वना हुने दुई टोलीलाई रू. १०,००० प्रति टोली र धाँ बाजा एक थान प्रदान गरिने जानकारी कार्यक्रममा दिइयो । साथै कार्यक्रममा सहभागी सबै टोलीलाई धाँ बाजा एक थान उपलब्ध गराइने र खाजा खर्चस्वरुप प्रति टोली रू. २००० नगद प्रदान गरिने जानकारी दिइयो ।

Leave A Reply

Your email address will not be published.