नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित टेलिभिजनसम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिमका प्रशिक्षार्थीहरुलाई आज प्रमाणपत्र वितरण गर्नुभयो ।
तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले पत्रकारिता राज्यको चौथो महत्वपूर्ण अंग भएको बताउँदै टेलिभिजन सञ्चालनको लागि अनुभवी जनशक्ति र विषयगत जानकारी आवश्यक भएको बताउनुभयो ।
राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको सञ्चारमाध्यमले नाफाको लागि नभई आस्थाको पत्रकारितामा जोड दिनुपर्ने बताउँदै सञ्चारमाध्यमहरुले जनताको समस्यालाई अगाडि सार्न मद्दत पुर्याउनुपर्छ भन्नुभयो ।
केही सञ्चारमाध्यमहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याट र प्रजग कोरियाका किम जोन उनलाई तानाशाही भन्दै भ्रम र झुटा समाचारहरु प्रचारप्रसार गर्दै आइरहेको बताउनुभयो ।
उहाँले सरकारले २० वर्ष पुरानो गाडी सञ्चालन गर्न नदिने निर्णयको खण्डन गर्दै पुराना गाडीहरु मर्मत गरी पुनः सञ्चालन गर्न सकिने र नगरपालिकाले गाडी मर्मतका तालिमहरु सञ्चालन गरी जनशक्ति उत्पादन गर्नेतर्फ पनि जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले नगर र नगरपालिकाका गतिविधिहरु सञ्चारमाध्यममार्फत व्यापक प्रचारप्रसार गर्दै आएको बताउँदै समाज परिवर्तनको लागि सञ्चारमाध्यम सशक्त माध्यम हो भन्नुभयो ।
उहाँले भक्तपुर नपाले आफ्नै स्वामित्वमा टिभी सञ्चालन गर्ने तयारीलाई मूर्त रुप दिन आवश्यक जनशक्ति व्यवस्थापनको लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको बताउँदै ख्वप टिभी दर्ता सञ्चालन प्रक्रियामा पनि अनेकौं समस्याहरु पार गर्दै ख्वप टिभीले परीक्षण प्रसारण सुरु गरिरहेको बताउनुभयो ।
सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुले अन्तर्राष्ट्रवादी पत्रकारहरुको जीवनी अध्ययन गरी प्रेरणा लिन सकिने बताउँदै उहाँले पत्रकारहरु प्रचलित ऐन कानुनको ज्ञान पनि राख्नुपर्छ भन्नुभयो ।
तालिमका प्रशिक्षक कृष्णकाजी मानन्धरले सिक्ने सिकाउने काम जीवन पर्यन्त चलिरहने बताउँदै १५ दिने तालिममा सबैले सिक्ने र सिकाउने अवसर पाएको बताउनुभयो । टिभी सञ्चालन गर्ने भक्तपुर नगरपालिका देशकै पहिलो स्थानीय तह भएको बताउँदै उहाँले सूचना र प्रविधिको युगमा यसको सही र व्यापक प्रयोगले नगरको प्रचारप्रसार अझ सशक्त बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा ख्वप टिभीका व्यवस्थापक रविन्द्रप्रसाद कुसीले पनि बोल्नुभएको थियो भने प्रशिक्षार्थीहरु रबिता बासुकला र शम्भुचरण राजभण्डारीले तालिम अनुभव सुनाउनुभयो ।
