Explore news and happenings at Bhaktapur

माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता

0

विश्व सर्वहारा वर्गका महान् गुरु एवम् दार्शनिक का. कार्ल माक्र्सको द्विशतवार्षिक जन्म जयन्तीको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार माध्यमिक विद्यालय (कक्षा ९ र १०) स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक्काइसौं शताब्दीको लागि योग्य नागरिक तयार गर्ने भक्तपुर नगरपालिकाको उद्देश्य रहेको र नयाँ पुस्ताका विद्यार्थीमाझ वैचारिक छलफलको आवश्यकता औंल्याउनुभयो ।
समाज बदल्नका निम्ति माक्र्सको योगदानबारे विद्यार्थीमाझ चर्चा आवश्यक रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले कार्ल माक्र्सका रचना तथा साहित्य अध्ययनमा विद्यार्थीहरुले जोड दिनुपर्ने बताउनुभयो ।
समाजको निम्ति योगदान पुर्‍याएका स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूबारे विद्यार्थी जानकार हुनुपर्ने बताउनुहुँदै विद्यार्थीलाई क्रियाशील बनाउन भक्तपुर नपाले स्थानीय पाठ्यक्रम, सीपमूलक तालिम र खेलकुद प्रतियोगिताहरूको आयोजना गरिरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले नयाँ पुस्तालाई व्यक्तिगत स्वार्थमा लिप्त नगराउन र उनीहरूमा व्यवहारिक ज्ञान दिन यस्ता प्रतियोगिताहरू महत्त्वपूर्ण हुने बताउनुभयो । उहाले समाजको वैज्ञानिक अध्ययन गर्ने नयाँ पुस्ता तयार गर्न भक्तपुर नगरपालिकाले जोड दिइरहेको बताउनुहुँदै नयाँ पुस्ता देश र समाजप्रति जिम्मेवार बन्न नसके देश धेरै पछाडि पर्ने बताउनुभयो ।
बासु माविका प्राचार्य अम्बिका न्याईच्याईले अबको समाज प्रगतिको बाटोतर्फ लम्कनुपर्ने र समाजको विकासमा विद्यार्थीहरूले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं. ५ का वडाअध्यक्ष प्रेमगोपाल कर्माचार्य, स्रोत व्यक्ति कृष्णप्रसाद कर्माचार्य, नगर शिक्षा अधिकृत मेघनाथ रिमालको पनि उपस्थिति थियो । निबन्ध प्रतियोगिताको ‘वैज्ञानिक समाजवाद आजको आवश्यकता’ शिर्षकमा २८ जना र ‘कला र संस्कृति संरक्षणमा भक्तपुर नगरपालिका’ विषयमा ४२ जना गरी कूल ७० जना विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएको आयोजक नगर शिक्षा समितिले जनाएको छ । साथै भक्तपुर नगरपालिकाको आयोजनामा २०७५ पुस १० गते भनपाको सभाकक्षमा भक्तपुर नगरभित्रका विभिन्न माध्यमिक विद्यालयका ९ जना विद्यार्थीहरुले “समाज विकास क्रम बारे मार्क्सवादी दृष्टीकोण” र “समाजवादी शिक्षा व्यवस्था :आवश्यकता र महत्व” विषयक वक्‍तृत्वकला प्रतियोगितामा भाग लिने आयोजक समितिले जानकारी गराएको थियो ।

Leave A Reply

Your email address will not be published.