Explore news and happenings at Bhaktapur

प्याब्सनको योमरी प्रतियोगिता

भक्तपुर, २०७५ पुस ८ गते आइतबार ।

0

प्याब्सन नगर समिति भक्तपुरको आयाजेनामा आइतबार प्याब्सन अन्तरविद्यालय योमरी बनाउने प्रतियोगिता सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कुनै पनि काम सानो नहुने बताउनुहुँदै आफूसँग सीप भए कहिल्यै भोको बस्न नपर्ने बताउनुभयो । योमरी बनाउने प्रतियोगिताले विद्यार्थीलाई उत्साहित बनाएको बताउनुहुँदै नयाँ पुस्तालाई योमरी बनाउन सीप सिकाउने राम्रो प्रयास भएको र व्यवसायिक रुपमा विकास गर्न मद्दत पुग्ने बताउनुभयो ।
बिर्सिंदै गरेका पहिचान र कला संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्नेमा जोड दिंदै प्रमुख प्रजापतिले संस्कृति लोप हुन नदिन यस्तो प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममार्फत् यहाँका मौलिक परम्परालाई जीवित राख्‍ने प्रयास गरिरहेको बताउनुहुँदै शिक्षा र स्वास्थ्य क्षेत्र राम्रो भए मात्र समाज र देश अगाडि बढ्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुरका शिक्षक–शिक्षिकाहरूलाई नेपाल भाषा लिपी प्रशिक्षणको कक्षा सञ्चालन गरिरहेको जानकारी गराउनुहुँदै वडा–वडामा शारीरिक व्यायामका साम्रागीहरू जडान गर्ने काम भइरहेको बताउनुभयो ।
      कार्यक्रममा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भक्तपुर नपाल स्थानीय चाडपर्व, संस्कृति जगेर्नालगायतमा उल्लेखनीय कार्य गरिरहेको र भक्तपुरका प्रत्येक विद्यालयमा संस्कृति कक्षा तथा अभिमुखीकरण कार्यक्रमहरूको आवश्यकता औंल्याउनुभयो । उहाँले आफ्नो नगर आफै बनाउने अभियानको निरन्तरताको आवश्यकता रहेको बताउनुभयो ।
संस्कृतिविद् ओम धौभडेलले नेपाल मण्डलको इतिहास, संस्कृति र स्वास्थ्यसँग जोडिएको सभ्यतालाई निरन्तर जोगाइराख्नुपर्ने र योमरी प्रतियागिताले यहाँका कला–संस्कृति सम्पदा संरक्षण कार्यमा मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा निर्णायकतर्फबाट सुजिता सै‌ंजु, प्याब्सन नगर समिति भक्तपुरका रमेशचन्द्र श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

भक्तपुर नगरपालिकाभित्रका १३ वटा विद्यालयहरूबीच भएको उक्त प्रतियोगितामा माउन्ट भ्याली स्कूल प्रथम, गोल्डेन गेट स्कूल द्वितीय, सुर्योदय स्कूल तृतीय र मनकामना इङ्गलिश स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र र विजयी प्रतियोगीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।  

Leave A Reply

Your email address will not be published.