Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिका ६९ वर्षमा प्रवेश

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले जनप्रतिनिधि र कर्मचारीको अनुशासन र स्फूर्तिको निम्ति खेलकुद गतिविधिहरु आवश्यक भएको बताउनुभयो । उहाँले नगरपालिका जनताको समस्या सम्बोधन गर्ने मुख्य संस्था हुनुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाको ६९ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित प्रवचन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेंले समयको मागसँगै कर्मचारीहरुको व्यक्तित्व र स्तर वृद्धि हुने सीपमूलक तालिमको आवश्यकता औंल्याउनुभयो ।

उहाँले नगरपालिका नगरवासीको हितको निम्ति नयाँ नयाँ विचार र नीति बनाउने साझा संस्था भएको बताउनुहुँदै नगरको सरसफाइका गतिविधिलाई निरन्तरता दिंदै लानुपर्ने र नगरवासीहरुको गुनासो तथा समस्या सम्बोधनमा नपाका कर्मचारीहरुले इमानदारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।

नगरपालिकाले फुटपाथ बनाउने, ढल निकासलगायतका कामहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुहुँदै अध्यक्ष बिजुक्छेंले समाजका शिक्षित व्यक्तिले अरुलाई मार्गनिर्देशन गर्नुपर्ने बताउनुभयो । उहा“ले सफाइ मजदुरको सुरक्षाको विषयमा नगरपालिकाले ध्यान दिनु उचित हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले श्रमजिवी जनतालाई केन्द्रविन्दुमा राखेर नगरपालिका अगाडि बढेको बताउनुहुँदै भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल र सरसफाइको नमुना नगर बनाउने उद्देश्यले जनप्रतिनिधिहरू लागिरहेको बताउँदै प्रमुख प्रजापतिले जनप्रतिनिधिहरूको हरेक काममा साथ र सहयोग गर्ने नगरवासीहरूमा कृतज्ञता ज्ञापन गर्नुभयो ।

प्रमुख प्रजापतिले भन्नुभयो – ‘विगतको स्थानीय निकाय अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितको अधिकार सम्पन्न स्थानीय तह भएको छ । शिक्षा, स्वास्थ्य, सहकारी, कृषि, समाज कल्याण, भेटनरीजस्ता विगतमा केन्द्रीय सरकार मातहत सञ्चालन हुने कार्यालयहरूको जिम्मेवारी पनि नगरपालिकामा आएको छ । संविधान र कानुनले जनताको नजिकको सरकार भनी चिनिने स्थानीय तहलाई अत्यन्त बलियो बनाइदिएको छ ।’

भक्तपुर नगरपालिकाले विभिन्न क्षेत्रमा गरिरहेको काम अहिले देशभरि चर्चाको विषय बनेको बताउनुहुँदै प्रमुख प्रजापतिले देशका विभिन्न नगरपालिका, महानगर र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र जनप्रतिनिधिहरूको भक्तपुर भ्रमण र अनुभवको आदानप्रदानले काम गर्न अझ हौसला मिलेको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसार्इंले स्थानीय तह सिंहदरवार नभई जनताको दरबार बन्न आवश्यक भएको बताउनुभयो ।

उहाँले नेपाल मजदुर किसान पार्टीले सधैं जनताको निःस्वार्थ सेवाको नीति लिएको र जनताको असल सेवक बन्न जनप्रतिनिधिहरुलाई उत्साहित गर्दै आइरहेको स्मरण गर्नुभयो । जनताका दरबारका महत्वपूर्ण हिस्सा कर्मचारीहरु हुने चर्चा गर्नुहुँदै सांसद गोसाईंले साँघुरो कर्मचारी मनावृत्तिमा रमाएर होेइन जनसेवाको बृहत भावना र जनताको आँखाको नानी बनेर जनसेवक कर्मचारी भएर काम गर्नु आजको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले भक्तपुर नपा देशकै व्यवस्थित र मानवीय, सामाजिक तथा सभ्यता विकास भएको उदाहरणीय नगर भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख कार्यकारी अधिकृत रोहितराज पोखरेल, भनपा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवां, भनपा १ का वडाअध्यक्ष श्यामकृष्ण खत्री र भनपा वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपाको स्थापना दिवसको अवसरमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुबीच र कर्मचारीहरुबीच सम्पन्न विविध खेलकुद प्रतियोगिताका विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नारायणमान बिजुक्छें (रोहित) ले प्रशंसा पत्र वितरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.