Explore news and happenings at Bhaktapur

लालबन्दीको ढुकढुकी एफएममा नगर प्रमुख प्रजापतिको अन्तरसंवाद कार्यक्रम

सर्लाही । २०८१ माघ १६

0
भक्तपुर नगरपालिकाका प्रमुख एवम् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपाको ५१ औं पार्टी स्थापना दिवसलाई पार्टीको विचार र सिद्धान्त प्रचारप्रसार अभियानको रुपमा देशका विभिन्न जिल्लाहरुमा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन भइरहेको बताउनुभयो ।
लालबन्दीको ढुकढुकी एफएम ९५.२ मेगाहर्जका कार्यक्रम प्रस्तोता क्षितिज विश्वकर्मासँगको अन्तरवार्तामा बोल्दै उहाँले व्यापक जनता सचेत नभएकै कारण संसदमा पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दल र त्यसका उम्मेद्वारहरुले जितिरहेको बताउनुभयो ।
पार्टीको नीति र निर्देशनमा काम गर्नु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै उहाँले राजनीतिक पार्टीको सिद्धान्त र व्यवहारमा भेद देखिएकै कारण जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको बताउनुभयो ।
देशका शासकहरुले राजनीतिलाई जनताको निस्वार्थ सेवा गर्नुभन्दा पनि कमाइ खाने भाँडो बनाएकै कारण व्यक्ति झन् झन् धनी र देश गरिब हुँदै गएको हो भन्दै उहाँले नेपाल मजदुर किसान पार्टीले आफ्ना कार्यकर्तालाई अनुशासित, अध्ययनशील र इमानदार भएर काम गर्न सँधै प्रेरित गर्दै आएको बताउनुभयो ।
राजनीतिक पार्टी भनेको भीड होइन, विचार र सिद्धान्तमा प्रतिबद्ध संगठित शक्ति भएको बताउँदै उहाँले नेपालको तराई कृषिमा अध्ययन अनुसन्धन गर्नेहरुको लालि उपयुक्त थलो भएको र कृषि विशेषज्ञहरुको सल्लाहसुझावअनुसार यहाँको विकासमा स्थानीय सरकारहरुले जोड दिनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले सरकारले नीतिगत रुपले नेपालका युवा विद्यार्थीहरुलाई नियोजित ढंगले विदेश पठाइरहेको छ भन्दै संसदमा नेमकिपाले संसदमा प्रखर प्रतिपक्षको भूमिका खेल्न सफल भएको बताउनुभयो ।
भक्तपुर नपाले भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालन गर्न पहल गर्दै आइरहेको बताउँदै उहाँले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण देशैभरिका विद्यार्थीहरु नगरपालिकाले सञ्चालन गरेका विभिन्न शैक्षिक संस्थामा अध्ययन गरिरहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.