सर्लाहीको कामतमा पार्टी स्थापना दिवसको अवसरमा राजनैतिक प्रशिक्षण
सर्लाही । २०८१ माघ १६
नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिका सदस्य सुनिल प्रजापतिले कुनै पनि क्षेत्रको विकासमा शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै तराईका महिलाहरु शैक्षिक र राजनैतिक रुपमा अगाडि नबढेसम्म त्यहाँको विकास अगाडि बढ्न गाह्रो हुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी सर्लाही जिल्ला समितिको आयोजनामा सर्लाहीको कामतमा नेमकिपाको ५१ औं स्थापना दिवसको अवसरमा भएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले तराईको अवस्था हेर्दा सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारामै सीमित भएको बताउनुभयो ।
कृषि प्रधान देश भएर पनि नेपालले अरबौंको खाद्यान्न छिमेकी देशबाट आयात गरिँदा देशको व्यापारघाटा बढिरहेको बताउँदै उहाँले तराईका ठाउँ ठाउँमा बाँध निर्माण गरी सिँचाइको उचित व्यवस्थापनतर्फ सरकारले जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले निर्वाचनमा मतदान गर्दैमा जनताको आफ्नो कर्तव्य पूरा नहुने बताउँदै आफ्नो ठाउँको विकासमा यहाँका जनताहरु नै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पुँजीवादी निर्वाचन जित्न शासक दलहरुले करोडौं खर्च गर्ने, भ्रष्टाचारी र तस्करहरुलाई संरक्षण गर्नेे जस्ता अनैतिक कार्य गर्दै आइरहेको बताउँदै उहाँले आफूलाई कम्युनिष्ट दाबी गर्ने नक्कली कम्युनिष्टहरुले पुजीवादी सरकारमा जान पार्टीको सिद्धान्त, विचार तथा मूल्य मान्यतालाई परित्याग गरी सिद्धान्तहीन गठबन्धन बनाएर सरकारमा टिकिरहने फोहोरी खेल खेल्दै आएको बताउनुभयो ।
वैदेशिक रोजगारीको नाममा गरिब जनतालाई नियोजित रुपमै सरकारले देश निकाला गर्ने काम गर्दै आएको बताउँदै उहाँले पद र पैसाको निम्ति काम गर्नेले व्यक्तिगत लाभलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।
२०८१ फागुन १६ गतेदेखि १९ गतेसम्म हुने नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन भव्य र सफल रुपमा सम्पन्न गर्न सबै कार्यकर्ताहरु क्रियाशील भएर पार्टी गतिविधिमा लाग्नुपर्ने बताउँदै उहाँले नेमकिपाले कम्युनिष्ट सिद्धान्त र विचारप्रति इमानदार र प्रतिबद्ध पार्टीको रुपमा आफ्नो पहिचान बनाएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति सर्लाही जिल्ला समितिका सदस्य रामाकान्त कापरले तराई आर्थिक विकासको धेरै सम्भावना भएको ठाउँ भएर पनि यहाँका जनता गरिब हुनुमा शासक दलको अदूरदर्शी सोचकै कारण हो भन्दै जनता राजनैतिक रुपमा सचेत र संगठित नभएसम्म यस ठाउँको विकास सम्भव नहुने बताउनुभयो ।
त्यस्तै पर्सा जिल्ला समितिका अध्यक्ष सरोज साहले माक्र्सवाद, लेनिनवाद र माओ त्से तुङ विचारधारालाई पार्टीले मार्गनिर्देशक सिद्धान्तको रुपमा अंगीकार गर्दै आएको बताउँदै नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेक्रायुसंघका केन्द्रीय कोषाध्यक्ष जगतराम धुख्वाले अन्याय, अत्याचार र थिचोमिचोको विरोध गर्न जनता संगठित हुनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले देश र जनताको सेवा गर्ने बाहेक नेमकिपाको कुनै स्वार्थ नभएको बताउँदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुद विकास, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा देशकै लागि नमुना कार्यहरु गर्दै आएको बताउनुभयो ।
त्यस्तै नेक्रामसंघका केन्द्रीय कोषाध्यक्ष रोशनमैंया सुवालले जनताको शैक्षिक, आर्थिक र राजनीतिक चेतनास्तर माथि उठेसँगै तराईको विकासले पनि गति लिने बताउँदै भक्तपुरको विकासमा नेमकिपाका अग्रज कार्यकर्ताहरुले धेरै योगदान पुर्याएको स्मरण गर्नुभयो ।



