भक्तपुरका नगर प्रमुख सुनिल प्रजापति रौतहटको माधवनारायण नगरपालिका अध्ययन भ्रमणमा
रौतहट । २०८१ माघ १५
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई रौतहटको माधवनारायण नगरपालिकाका नगर प्रमुख वैजनाथ प्रसाद यादवले आज उहाँको कार्यकक्षमा स्वागत गर्नुभयो ।
विभिन्न स्थानीय तह अध्ययन भ्रमणको क्रममा रौतहट पुग्नुभएका प्रमुख सुनिल प्रजापति र प्रमुख यादवबीच भएको भेटमा उहाँहरुबीच नेपालको कृषि क्षेत्रको विकास र सम्भावना, दुई स्थानीय तहले गरिरहेका गतिविधिबारे अनुभव आदानप्रदान भयो ।
भेटमा नगरप्रमुख प्रजापतिले भक्तपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको नगर भएको बताउँदै यहाँ वर्षेनी लाखौं विदेशी पर्यटकहरुले भ्रमण गर्ने र भक्तपुर भ्रमण गर्ने पर्यटकहरुहरुबाट उठेको पर्यटन शुल्कसमेतको राजश्वबाट नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलगायत विकास निर्माणमा खर्च गर्दै आएको बताउनुभयो ।
माधवनारायण नपाका प्रमुख यादवले ९ वटा वडामा विभाजित माधवनारायण नपामा ५ वटा मावि, २ वटा निमावि र १२ वटा प्राथमिक विद्यालयहरु रहेको बताउनुभयो । ५० हजार जनसंख्या भएको उक्त नगरपालिकाका जनताको मुख्य पेशा कृषि रहेको बताउँदै विद्यालय संख्या र विद्यार्थी संख्या बढि भए पनि शिक्षक दरबन्दी अपुग रहेको बताउनुभयो ।
सिंचाइमा उचित व्यवस्थापन नहुँदा यहाँका कृषकहरुले राम्रो उब्जनी गर्न नसकिरहेको बताउँदै उहाँले माधवनारायण नपाको आन्तरिक स्रोत मालपोतबाहेक अरु केही नभएको बताउनुभयो । आन्तरिक श्रोतको सुनिश्चितता विना स्थानीय तह घोषणाले धेरै स्थानीत तहहरुले समस्या भोगिरहेको बताउनु भयो ।



