रौतहटमा नेमकिपाको ५१ औं पार्टी स्थापना दिवसको अवसरमा प्रशिक्षण
रौतहट । २०८१ माघ १५
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले तराईको बारा, पर्सा, रौतहट, सर्लाही जिल्लाहरु क्रान्तिकारी इतिहास बोकेको बताउँदै ती जिल्लाहरुमा पुनः किसान आन्दोलनलाई अगाडि बढाउनुपर्ने आवश्यकता भएको बताउनु भयो ।
नेपाल मजदुर किसान पार्टीको ५१ औं स्थापना दिवसको अवसरमा आज नेमकिपा रौतहट जिल्ला समितिको आयोजनामा भएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले तराईको विकासमा तराइकै जनताको सक्रियता आवश्यक छ भन्नु भयो ।
कृषि प्रधान देश भएर पनि नेपालले वर्षेनी अरबौंको कृषिजन्य वस्तु तेस्रो मुलुकबाट आयात गर्दा देशको व्यापारघाटा झन् बढिरहेको बताउँदै उहाँले विदेशबाट सामान आयात गरेर समृद्ध मुलुक बनाउने सरकारको लक्ष्य पुरा हुन्दैन भन्नुभयो ।
उहाँले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरुद्ध निरन्तर संघर्ष गर्ने नेमकिपा नेपालको एकमात्र देशभक्त र अन्तराष्टिबादी पार्टी भएको बताउँदै कामदार वर्ग आफ्नो हक अधिकारबारे सचेत र संगठित हुन जरुरी रहेको बताउनुभयो ।
नेमकिपा रौतहट जिल्ला समितिका अध्यक्ष दिनेशप्रसाद साहले नेपाल मजदुर किसान पार्टीले भक्तपुरको राजनैतिक र शैक्षिक विकासमा खेलेको भूमिका बारे प्रष्ट पार्दै तराईका जनता शैक्षिक र राजनैतिक रुपमा संगठित नभएसम्म यहाँको विकास सम्भव नहुने बताउनुभयो ।
नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोज साहले नेपाल मजदुर किसान पार्टी सिद्धान्त र विचारमा प्रतिबद्ध पार्टी भएको बताउँदै चुनावमा झुटा आश्वासन दिने, भोज खुवाउने र पैसा खर्च गर्ने कामको नेमकिपाका उम्मेदवारहरुले सँधै विरोध गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नेपाल मजदुर किसान पार्टीले शोषित पीडित जनताको समस्या समाधानको लागि निरन्तर पहल गर्दै आएको बताउँदै पार्टीले देशको जनविरोधी कदमको विरोध गर्दै संसद र सडकमा आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय कोषाध्यक्ष रोशनमैंया सुवालले तराईका महिलाहरु राजनैतिक रुपमा प्रशिक्षित नभएसम्म यहाँको विकास र जनताको जीवनस्तरमा परिवर्तन हुन धेरै समय लाग्ने बताउनुभयो । नेमकिपाका कार्यकर्ताहरुले अन्धविश्वासको विरोध गर्दै समाजमा परिवर्तन ल्याउन भूमिका खेल्नुपर्ने बताउँदै उहाँले तराईमा ब्याप्त लैंगिक हिंसा, दाइजो प्रथा र छाउपडीजस्ता विकृतिहरुलाई विस्तारै हटाउँदै लानुपर्ने बताउनुभयो ।

