भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाट सरुवा हुनुभएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई आज एक कार्यक्रमको आयोजना गरी बिदाई गर्नुभयो ।
बिदाइ कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले प्रजिअ श्रेष्ठको कार्यकालमा शान्ति सुरक्षा, जात्रा व्यवस्थापन, विपद् व्यवस्थापनलगायतका विविध विषयमा काम गर्न सहज भएको बताउँदै जनताको बीचमा पुग्ने र उनीहरुको समस्या बुझेर काम गर्ने विषयमा प्रजिअ श्रेष्ठ अब्बल रहेको बताउनुभयो ।
प्रजिअ श्रेष्ठको कार्यशैली र कामप्रतिको लगाव स्मरणयोग्य भएको बताउँदै उहाँले भक्तपुरको विकासमा प्रजिअ श्रेष्ठले सन्तुलित भूमिका खेल्नुभएको बताउनुभयो ।
संकटको समयमा गरेको कामको मूल्यांकन जनताले गर्नेछन् भन्दै उहाँले भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल निर्माण गर्ने विषयमा प्रजिअ श्रेष्ठले समन्वयकारी भूमिकाको स्मरण गर्नुभयो ।
बिदाइ कार्यक्रममा बोल्दै प्रजिअ रोशनीकुमारी श्रेष्ठले भक्तपुर जिल्लाको विकासमा भक्तपुर नपाको अभिभावकीय भूमिका सँधै स्मरणयोग्य रहने बताउँदै संघ सरकारको प्रतिनिधित्व गरी प्रदेश र स्थानीय सरकारहरुसँग आफूले सँधै समन्वयकारी भूमिकामा काम गरेको चर्चा गर्नुभयो ।
भक्तपुरका अनुभवी जनप्रतिनिधिसँग काम गर्ने अवसरमा पाएकोमा कृतज्ञता ज्ञापन गर्दै उहाँले इमानदारिता र नैतिक बलले आफ्नो कर्तव्य पूरा गर्न पाएकोमा गौरव महसुस भएको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
सोही क्रममा प्रमुख प्रजापतिले प्रजिअ श्रेष्ठलाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र नपाका महत्वपूर्ण प्रकाशनहरु उपहार स्वरुप प्रदान गर्नुभयो ।
प्रजिअ श्रेष्ठ १३ महिनाअघि प्रमुख जिल्ला अधिकारी भएर भक्तपुर आउनुभएको थियो । उनको हाल गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् न्युनीकरण प्राधिकरणमा सरुवा भएको हो ।