Explore news and happenings at Bhaktapur

“हामी निर्वाचन घोषणापत्रलाई अक्षरस कार्यान्वयन गर्ने कोशिस गर्दैछौं’ – सुनिल प्रजापति,प्रमुख भक्तपुर नगरपालिका

0

नेपाल भाषा साहित्य तःमुंज्या कामदार वर्गको साझा मंच हो । विगत ४४ वर्षदेखि नेपालभाषा साहित्य तमुंज्याले साहित्य र संस्कृतिको माध्यमबाट कामदार वर्गको सेवा गर्दै आएको छ । भाषा र साहित्य हाम्रो पहिचान भएको हुँदा त्यसको संरक्षण गर्नु पनि हामी सबैको साझा कर्तव्य हो । भाषा र संस्कृतिको माध्यमबाट लामो समयदेखि नेपालको राजनैतिक परिवर्तनमा नेपाल भाषा साहित्य तमुंज्याले महत्वपूर्ण योगदान गर्दै आएको छ । आगामी दिनहरुमा झन सशक्त रुपमा अगाडि बढ्न सकोस् हार्दिक शुभकामना !
नाचगानको राजनधानी, साँस्कृतिक नगर, सम्पदा संरक्षित नगरको रुपमा परिचित भक्तपुरलाई जर्मनमा एक प्रशिद्ध वास्तुकलाविद् नील गोत्सोले “संसारकै ठूलो जीवित संग्रहालयको” उपमा दिनु भएको छ । आज तमुंज्याको मंचमा बोल्नु हुने कवियत्री जयन्ता पोखरेलले भक्तपुरलाई “इमानदार मानिसहरु बस्ने ठाउँ” र वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले नेपालका सबै क्षेत्र भक्तपुर जस्तो भए नेपाल “स्वर्ग” हुने भनी भक्तपुरको चर्चा गर्नु भयो । हामी उहाँहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । आज भन्दा तीन दशक अगाडिसम्म भक्तपरुका जनताले हेला र अपहेलित जीवन बिताउनु पर्थ्यो । अव सबैतिर भक्तपुरको चर्चा हुन थालेको छ । यो हाम्रा अग्रजहरुले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारिपूर्वक गर्नु भएको कामको परिणाम हो । यसलाई अझ अगाडि बढाउने जिम्मेवारी अहिले हामीमा छ ।
आजभन्दा साढे दुइ वर्ष अघि २०७९ साल बैशाख महिनामा सम्पन्न स्थानीय निर्वाचनमा हामी दोस्रो कार्यकालका लागि निर्वाचित भयौं । नेपाल मजदुर किसान पार्टीले जारी गरेको घोषणापत्र कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता हो ।
शिक्षामा हाम्रो प्रतिबद्धताः
ख्वप विश्वविद्यालय संचालनलाई अगाडि बढाउने र नयाँ नयाँ कलेजहरु संचालन गर्ने निर्वाचन घोषणापत्रमा उल्लेख छ । त्यहीअनुसार निर्वाचित भएकै वर्ष २०७९ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्विकृति प्राप्त गरी ख्वप कलेज अफ ल सञ्चालन गर्यौं । विद्यार्थीहरुको धेरै माग हुँदा हुँदै पनि स्विकृति प्राप्त ६० कोटामा ३ वर्ष गरी हाल १८० जना विद्यार्थीहरु पढाउँदैछौं । थप कोटाको लागि हामी प्रयासरत छौं ।
ख्वप विश्वविद्यालय विधेयक पारित गर्न नेमकिपाका सचिव एवं साँसद प्रेम सुवालले पटक पटक संसदमा उठाउँदै आउनु भएको छ । ख्वपको भन्दा पछाडि आएका कर्णाली विज्ञान प्रतिष्ठान, राजश्री जनक विश्वविद्यालय, पश्चिमाञ्चल विश्वविद्यालय, नेपाल विश्वविद्यालयलगायत धेरै वटा विधेयकहरु पारित भइ सके । तर ख्वप विश्वविद्यालय विधेयक अझै अगाडि बढ्न सकेको छैन । विधेयक शिक्षा, अर्थ र कानून मन्त्रालय हुँदै पुनः शिक्षा मन्त्रालयमा पुगेको जानकारी पाएका छौं । कहिले अगाडि बढाउँछ अनिश्चित छ । तर एउटा कुरामा भन्ने हामी आशावादी छौं,ख्वप विश्वविद्यालय विधेयक एक दिन पारित हुन्छ हुन्छ । त्यसलाई कसैले रोक्न सक्ने छैन । हामी त्यो दिनको पर्खाइमा छौं ।
ख्वप विश्वविद्यालयको लागि सल्लाघारीस्थित १०८ रोपनी जग्गा हामीले पहिलेदेखि माग गरी आएका थियौं । राजा वीरेन्द्रको पालामा मोहीलाई ६०० र जग्गाधनीलाई १२००।– गरी प्रति रोपनी १८००।– मा प्राप्त गरेको त्यो जग्गा भक्तपुरबासीहरुकै साझा सम्पत्ती हो । २०५८ सालमा राजा वीरेन्द्रको हत्यापछि त्यसको स्वामित्व ज्ञानेन्द्रमा सरियो । २०६२/०६३ सालको आन्दोलनबाट गणतन्त्र स्थापना पछि राजा र राजपरिवारको नाउँमा रहेको सम्पूर्ण जग्गा जमीन र सम्पत्ती नेपाल ट्रष्टको स्वामित्वमा पुग्यो ।
ट्रष्ट ऐनमा शिक्षा र स्वास्थ्य प्रयोजनको लागि प्रयोग गर्ने उल्लेख छ । यसर्थ ट्रष्टका वर्तमान अध्यक्ष भूमि सुधार मन्त्री बलराम अधिकारीलाई उक्त जग्गा ख्वप विश्वविद्यालयका लागि प्रदान गर्न मिति २०८१ भाद्र ३१ गते ध्यानाकर्षण पत्र बुझायौं । मन्त्रीज्यू स्वयं त्यसको भोलिपल्ट २०८१ असोज १ गते १०८ रोपनी जग्गाबारे जानकारी लिन भक्तपुर आउनु भयो । उहाँले भनपाद्वारा संचालित अस्पताल र कलेजहरुको अवलोकन गर्नु भयो । विश्वविद्यालय संचालनको लागि जग्गा प्रदान गर्न आफू सकारात्मक रहेको बताउँदै प्रकृया अगाडि बढाउने आश्वासन दिनु भयो ।
नपाद्वारा संचालित कलेजहरुलाई नयाँ नयाँ विषयहरु अध्यापनको स्विकृति दिएको छैन । त्यसबारे त्रिविविका तत्कालीन उपकुलपति धर्मकान्त बास्टोलासँग भेट गरी आग्रह गयौं । उहाँले आङ्गिक कलेजहरुबाहेक अरुलाई स्विकृति दिने नीति नभएको प्रष्ट पार्नु भयो । भेटमा उहाँले भागवण्डामा प्राध्यापकहरु नियुक्त हुने गरेको हुँदा काम गराउन गाह्रो भएको लाचारी व्यक्त गर्नु भयो । केहि प्राध्यापकहरु विश्वविद्यालयले दिने तलबभन्दा बढी म्यान पावर कम्पनीहरुबाट तलब खाने रहेको पनि जानकारी दिनु भयो र विद्यार्थी विदेश जाने प्रशंग उठ्दा त्यस्ता प्राध्यापकहरु पनि विद्यार्थी विदेश जानेमा दोषी रहेको बताउनुभयो ।
वर्तमान उपकुलपति केशर जङ्ग वडालसँग पनि भेट गरेर नयाँ विषय संचालनको स्विकृति माग गर्यौ । उहाँले गुणस्तर सुुनिश्चितता तथा प्रत्यायन चिन्ह(क्यूएए) प्राप्त कलेजलाई मात्र नयाँ बिषय स्विकृृति दिन सकिने बताउनु भयो । नगरपालिका स्वयं स्थानीय सरकार भएकोले सरकारी कलेज सरह मान्यता दिन जोड गर्दा उहाँले “बैठकमा राखेर छलफल गर्छु” भन्ने आश्वासन दिनु भयो ।
एकातिर विश्वविद्यालय अनुदान आयोगले क्यूएए स्विकृति नदिने अर्कोतिर नयाँ विषय संचालन गर्न क्यूएए अनिवार्य गर्ने सरकारको यो कस्तो नीति हो ? यो नियोजित तरिकाले विद्यार्थी विदेश पठाउने सरकारी चाल हो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानले सामान्य चिकित्सा, स्वास्थ्य प्रयोगशाला विज्ञान, औषधी विज्ञान, एक्स रे सम्बन्धी विज्ञान पढाउन स्विकृतिको लागि ४ लाख रुपैंया सिटिइभिटिइलाई बुझाएको वर्षौ भइसक्यो तर अहिलेसम्म स्विकृति पाएका छैनौं । यसर्थ, हामीले जनताका छोराछोरीहरुलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने चाहना हुँदा हुँदै पनि विभिन्न बाधा अड्चनहरु भेगिरहेका छौं । गरिब विद्यार्थीहरुलाई शैक्षिक ऋण, विभिन्न विषयहरुमा विद्यावारिधिसम्मको छात्रबृत्तिको व्यवस्था गरी भनपाले जनताका छोराछारीहरुलाई उच्च शिक्षा प्राप्तिको अवसर प्रदान गरिरहेकोे छ ।
स्वास्थ्यमा हाम्रो प्रतिबद्धताः
चुनावी घोषणापत्रमा ख्वप अस्पताललाई स्तरोन्नत्ती गरी १०० शय्याको अस्पताल संचालन गर्ने र सुविधा सम्पन्न अस्पताल बनाउने उल्लेख भए बमोजिम ख्वप अस्पतालको स्तरोन्नति भइसकेको छ र अब सुविधा सम्पन्न बनाउने प्रयासमा छौं । आ.व. २०८०/८१ मा देशका ७० भन्दा बढी जिल्लामा २ लाख ५३ हजार भन्दा बढी सेवा दियो भने चालु आ.व. को साढे २ महिनामा ६८ हजारभन्दा बढी विरामीहरुलाई सेवा दिइ सकेको छ । अहिले त्यस अस्पतालमा २२३ जना चिकित्सक, नर्स र अन्य जनशक्ति काय{रत छन् ।
सरकारले विमा वापतको पैसा समयमा भुक्तानी नगरेको कारण ख्वप अस्पतालले आर्थिक समस्या भोग्दैछ । यद्यपि देशभर विमा संचालन भएका ४८३ अस्पतालहरुमध्ये उत्कृष्ट सेवा दिने ख्वप अस्पताल सातौं स्थानमा रहेको छ । हामी देशकै सबभन्दा राम्रो सेवा दिने अस्पतालको रुपमा विकास गन{ चाहन्छौं । अहिले शिक्षण अस्पतालले विमाको उपचार बन्द गरेको छ । पाटन अस्पतालले १८ करोडभन्दा बढी बाँकी भएकोले तलब दिनै मुस्किल भएको बताएको छ भने वीर अस्पतालले पनि समस्या भोग्न परेको समाचार पत्रहरुमा आइरहेका छन् । देशभरका सरकारी अस्पतालहरुको अबस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । भनपाले नगरबासीहरुलाई निःशुल्क अक्सीजन र रगतको पनि व्यवस्था गर्दै आएको छ ।
घर देलौ नर्सि·मा एक वर्षमा ५१,४१९ जनाको सेवा गरे भने रिपोर्ट अनुसार नगरबासीहरुमा सर्नभन्दा नसर्ने रोगहरु बढिरहेको पाइएको छ । अहिले नगरबासीहरुमा उच्च रक्तचाप, मधुमेह, दमखोकी, कोलस्टोरल र हाडजोर्नी सबभन्दा बढी देखिएका छन् । यसको न्यूनीकरणका लागि भनपाले समय समयमा स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यहरु गर्दैछ । त्यसैगरी श्‍वासप्रश्वास केन्द्रमा ५ महिनामा १४०० भन्दा बढीको सेवा गरेको रेकर्ड छ । भक्तपुर अस्पताल, क्यान्सर र अङ्ग प्रत्यारोपण केन्द्र समेत गरी चारबटा सरकारी अस्पतालहरुले भक्तपुरबासीहरुलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्दै आएका छन् ।
सम्पदा संरक्षणमा प्रतिबद्धताः
भक्तपुरको प्रशिद्ध भाज्यापोखरी यो कार्यकालमा सम्पन्न गर्यौं । लक्ष्मी नगरसिंह मन्दिर यो वर्ष सम्पन्न गर्ने तयारीमा छौं । अरनिको सभावन, थंथु दरबार, इखालाछी मठ र हाडा छें निर्माणले गति लिएको छ । त्यसको अलावा नगरमा धेरै सम्पदाहरु पनि पुनःनिर्माण र जीर्णोद्धार गर्दैछौं ।
अन्यः
देको मिवा आवास योजना पनि सम्पन्न गर्न लाग्दैछौं । १६५३ रोपनी जग्गामा संचालन गरिएको उक्त आवास योजना स्थानीय जनताको माग अनुसार नै भएको हो । त्यहाँ केही साथीहरुले आफ्नाे असन्तुष्टी पोख्नु भएको छ । यस्ता आयोजनाहरुमा केही समस्याहरु आउनु स्वभाविक हो । त्यसलाई सम्वादद्वारा नैसम्पन्न गर्ने हो । जथाभावी बोलेर हिड्दा सम्वादलाई बाधामात्र पुग्दछ । यसबारे साथीहरुले बुझ्नु नै हुने छ ।
सर्वोच्च अदालतको केही समय अघि आएको एउटा पैmसलाले विद्यमान खोलाको मापदण्डमा थप २० मिटर छाड्नुपर्ने विषय जटील बनेको छ । पुरानो मापदण्डभित्र रहेर धेरै घरहरु निर्माण भइ सके । त्यसलाई भत्काउन सक्ने सम्भावना छैन । त्यहाँ धेरै सम्पदाहरु पनि छन् । फैसला कार्यान्वयनमा ठू्लो समस्या हुनेछ । हामीले सरकारको पटक पटक ध्यानाकर्षण गरी सरकारको तर्फबाट फैसला पुनरावलोकनको लागि निवेदन दर्ता भएको छ । अदालतले समस्यालाई बुझेर पुनर्विचार गर्ने जनताको अपेक्षा छ । साथै मापदण्ड कुन खोलामा कति राख्ने भन्ने सन्दर्भमा विस्तृत अध्ययन गरी लागू गर्ने अधिकार सरकारलाई दिनु राम्रो हुनेछ । सबै खोलामा एकै किसिमको मापदण्ड कायम गर्नु व्यवहारिक पनि हुँदैन ।
भक्तपुर नपाले सरसफाइ, खेलकुद र विभिन्न सीपमूलक तालिमहरु दिएर निर्वाचन घोषणापत्रलाई अक्षरस पालना गर्ने प्रयास गर्दैछ । भक्तपुरलाई संसारकै हेर्न लायक नगर बनाउने का. रोहितले देख्नु भएको सपना “१०० वर्ष पछिको भक्तपुर” का आधारहरु निर्माण गर्ने जिम्मेवारी अहिले हामो काँधमा छ । हामी क्रमशः त्यसको आधारहरु तयार गर्दै पनि छौं र त्यसलाई निरन्तरता दिंदै जानेछौं ।
भक्तपुर नगरपालिकाले गरेका कामहरुको अध्ययन गर्न देशका विभिन्न पालिकाका प्रमुखहरु, साँसद र मन्त्रीहरु आउनु भएको छ । त्यो यहाँका जनताले इमान्दारी पूर्वक गरेका कार्यहरुको उच्च मूल्याड्ढन हो भन्ने लाग्छ । त्यसले हामीलाई अझ राम्रो काम गर्ने हौसला प्राप्त भएको छ ।

(भनपा प्रमुख सुनिल प्रजापतिले मिति २०८१ असोज २८ गते सोमबार ४४ औं नेपाल भाषा साहित्य तःमुंज्याको पहिलो दिनमा व्यक्त गर्नुभएको मन्तव्यको सार संक्षेप)

Leave A Reply

Your email address will not be published.