Explore news and happenings at Bhaktapur

विजया दशमी २०८१ को अवसरमा जनप्रतिनिधि र कर्मचारीहरुबीच शुभकामना आदान प्रदान

मिति २०८१ असोज २३ गते बुधबार ।

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा विजया दशमी २०८१ काे अवसरमा जनप्रतिनिधि र कर्मचारीहरुबीच शुभकामना आदान प्रदान भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले विजया दशमीको लामो विदाको समयमा कर्मचारीहरुले सरसफाइलाई पहिलो प्राथमिकतामा राखी कार्य गनुपर्ने तथा अनियमित निर्माण, चोरी, ठगी, लुटपाटलगायतका नकारात्मक कार्यलाई निरुत्साहित गर्न कर्मचारी र जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले दशैंको समयमा भारतबाट राँगा, खसी, बोका र मादक पदार्थहरु अरुबेला भन्दा धेरै आयात हुने चर्चा गर्नुहुँदै नेपालमा हरेक वर्ष १५ खर्बको आयात भइरहेको र डेढ खर्वको मात्र निर्यात हुने गरेको हुँदा ब्यापार घाटा विद्यमान रहेको जानकारी दिनुभयो । देशको अर्थतन्त्र बलियो नभएमा शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र लगायतका हरेक क्षेत्रमा यसको असर पर्ने बताउनुहुँदै सरकारले बीमा वापतको रकम अस्पतालहरुलाई समयमा दिन नसक्दा स्वास्थ्य क्षेत्र प्रभावित भएको जानकारी दिनुभयो ।
प्रमुख अतिथि प्रजापतिले कर्मचारीहरुले विदाको समयमा अरु समयमा भन्दा बढी सतर्कता अपनाउँदै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने चर्चा गर्नुहुँदै उहाँले “आवश्यकता परेको बेलामा इमानदारीपूर्वक काम गर्ने कर्मचारी र जनप्रतिनिधिलाई नगरबासीले उच्च मूल्यांकन गर्ने भएकोले सेवक भई आफ्नो कर्तव्य सम्झी सेवा गर्न अभिप्रेरित हुनु आवश्यक छ” भन्नुभयो ।
कार्यक्रमका अतिथि एवं उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगसँगै सफाई क्षेत्रमा पहिचान बनाउन सफल भइरहेको चर्चा गर्नुहुँदै “नगरमा सरसफाइ हुनु भनेको स्वस्थ, सभ्य र सुसंस्कृत समाजको विकास हुनु हो भन्नुभयो । उहाँले फोहोर व्यवस्थापनको लागि नगरबासीहरुले घर घरमै कुहिने र नकुहिने फोहोर छुट्याई कुहिने फोहोरलाई कौशी खेतीमा मलको रुपमा प्रयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उपप्रमुख जोशीले चाडपर्वको बेलामा घरबाट निस्कने फोहोरहरुलाई कम गर्नको लागि नगरबासीहरुले प्रयास गर्नुपर्ने र ती फोहोर संकलन गरी नगरलाई स्वच्छ, स्वस्थ नगर बनाउन सफाई कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने चर्चा गर्नुहुँदै कर्मचारी र जनप्रतिनिधिहरुको समन्वयमा नगरलाई उत्कृष्ट नगरको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले चाडपर्वमा कर्मचारीहरुले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे चर्चा गर्नुहुँदै कर्मचारीहरु धुम्रपान र मध्यपानबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य मञ्जुमैंया लाखा र भक्तपुर नगरपालिका स्यानिटेशन शाखाका शाखा प्रमुख दिलिप कुमार सुवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.