Explore news and happenings at Bhaktapur

शुभ विजया दशमी, शुभ दिपावली, नेपाल संवत् ११४५ (न्हुदँ) तथा छठ पर्वको सुखद् उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम

भक्तपुर । २०८१ असोज १९

0
भक्तपुर नगरपालिका वडा नं. १ कार्यालयको आयोजनामा शनिबार बिहान शुभ विजया दशमी, शुभ दिपावली, नेपाल संवत् ११४५ (न्हुदँ) तथा छठ पर्वको सुखद् उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले निर्वाचनमा गरिएका प्रतिबद्धताअनुसार नै यहाँको विकास निर्माण कार्यलाई अगाडि बढाएको बताउनुभयो ।
भक्तपुर नपाले सल्लाघारीस्थित १०८ रोपनी जग्गा संरक्षण गरी त्यहाँ ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको बताउँदै सरकारी र पर्ति जग्गा संरक्षणलाई नपाले विशेष जोड दिँदै आएको बताउनुभयो ।
नजिकिँदै गरेको विजया दशमी, शुभ दिपावली र न्हुदँ भिन्तुनाको शुभकामना दिँदै उहाँले चाडबाडको समयमा स्वास्थ्यलाई ध्यानमा राखेर खानपान गर्ने र समयको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा भएको कामको देशैभरिका जनप्रतिनिधिहरुले अवलम्बन गर्न खोजिएको बताउँदै उहाँले भक्तपुरलाई संसारकै आकर्षण सहरको रुपमा विकास गर्ने नपाले उद्देश्य रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाको गतिविधिबारे जानकार गराउँदै ८०० वर्ष पुरानो भक्तपुरको भाजु पुखु पुनःनिर्माण गरी उद्घाटन गर्नु नपाको ठूलो उपलब्धी भएको बताउनुभयो ।
केही दिन अघि गएको बाढीले धानबालीमा पुगेको क्षतिबारे प्रष्ट पार्दै उहाँले वडाले ठाउँ ठाउँमा जीर्ण अवस्थामा रहेका सम्पदाहरुको मर्मतसम्भारको कार्यलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
समाजसेवी कृष्णबहादुर दुगुजुले ज्येष्ठ नागरिकहरुको सेवामा भक्तपुर नपाले नवीनत्तम अभ्यासहरु अगाडि ल्याउनुपर्ने बताउँदै घाँसे मैदानमा परिणत भाजु पोखरी जलेश्वर मन्दिरसहित मौलिक स्वरुपमा पुनःनिर्माण सम्पन्न गर्नु नपाको ठूलो सफलता भएको बताउनुभयो ।
समाजसेवी सम्झना प्रेमीले भक्तपुर नपामा जनप्रतिनिधिबहालीपश्चात धेरै उदाहरणीय कार्यहरु भएको बताउँदै भक्तपुर नपाले नःपलीमा सञ्चालन गरेको आधारभूत स्वास्थ्य केन्द्रबाट धेरै जनता लाभान्वित भएको बताउनुभयो ।
उक्त कार्यक्रममा वडा सदस्य कल्पना शिल्पकार, गंगा बमनु र सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.