महेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं वार्षिक साधारणसभा सम्पन्न
भक्तपुर । २०८१ असोज १९
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ७ वाचुत्वस्थित महेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं वार्षिक साधारणसभा आज सम्पन्न भयो ।
सभाको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले कुनै पनि संस्था राम्रो बनाउन नेतृत्वकर्ताहरुको भूमिका उल्लेखनीय हुनुपर्ने बताउनुभयो । सहकारी संस्थाहरुले युवालक्षित सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी यहाँको विकास गर्दा भक्तपुर आज देशकै शैक्षिक केन्द्रको रुपमा विकास भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य ढिलो चाडो पूरा हुनेमा विश्वस्त रहेको बताउँदै उहाँले विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनतर्फ नपाले जोड दिँदै आएको बताउनुभयो ।
जनताको रकम हिनामिना गर्ने सहकारी सञ्चालकहरुलाई कानुनी दायरामा ल्याउन
पर्ने बताउँदै उहाँले सहकारी संस्थामार्फत हुने सामाजिक गतिविधिलाई अझ व्यापकता दिनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले युवाहरु विदेशिने क्रम झन् झन् भयावह बन्दै गइरहेको प्रसंग जोड्दै भक्तपुर नपाले ज्येष्ठ नागरिकहरुको लागि आदर निकेतन सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सहकारी संस्थाहरु आर्थिक अनुशासन, पारदर्शी र नियमसंगत ढंगले सञ्चालन हुनुपर्ने बताउँदै समाजवादी देशहरुमा सहकारी संस्थाहरुमार्फत धेरै राम्रा राम्रा कामहरु हुने गरेको बताउनुभयो । उहाँले समाज र समुदायमा आधारित सहकारी संस्थाले सदस्यहरुको हितमा काम गर्नुपर्ने बताउँदै सहकारी सामाजिक, आर्थिक सँगसँगै राजनैतिक संगठन पनि हो भन्नुभयो ।
पूर्व वडाध्यक्ष कृष्णगोविन्द खाइजुले महेश्वरी साकोस यहाँका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने उद्देश्यले सञ्चालित संस्था भएको बताउँदै समुदायमा आधारित सहकारी संस्था स्थापनाले समाज र परिवारलाई धेरै सहयोग पुगेको बताउनुभयो । सहकारी सञ्चालकहरुले आफूलाई सामाजिक कार्यकर्ताको रुपमा स्वयम्सेवी भावनाले काम गर्न प्रेरित गर्दै उहाँले युवाहरु लक्षित गतिविधि सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत संघका प्रतिनिधि कृष्णश्वरी प्रजापतिले सहकारी संस्थाको साधारणसभा सहकारीको महत्वपूर्ण सभा भएको बताउँदै भत्ता र लाभांश वितरणसँगसँगै सहकारीको वित्तीय अवस्थाबारे सदस्यलाई जानकारी गराउने उद्देश्यले साधारणसभाहरु सञ्चालन हुन जरुरी रहेको बताउनुभयो ।
सिद्धि गणेश साकोसका उपाध्यक्ष विष्णुराम दुमरुले सहकारी संस्थाहरु आर्थिक गतिविधिमा मात्र सीमित हुन नहुने बताउँदै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनेतर्फ सहकारी संस्थाहरुले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
महेश्वरी साकोसका अध्यक्ष राजेश कुस्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व अध्यक्ष विवेक कुस्मा, उपाध्यक्ष तेजभक्त श्रेष्ठ र सचिव अन्जन छुस्याबागले महेश्वरी साकोस स्थापनाको उद्देश्य र यसबाट सञ्चालित विविध गतिविधिबारे प्रकाश पार्नुभयो । २०६२ सालमा २७ हजार शेयर पुँजी, ५४ जना सदस्यबाट स्थापना भएको महेश्वरी साकोसमा हाल १४ करोड कुल कारोबार गरी १,२५६ जना सदस्य र ३०६ जना बाल सदस्य रहेको बताइएको छ ।