सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३० औं वार्षिक साधारणसभा सम्पन्न
भक्तपुर । २०८१ असोज १८
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्था भनेको गरिब जनताका असल मित्र हुनुपर्ने बताउँदै सहकारी संस्थाहरुले जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भूमिका खेल्न सकिने बताउनुभयो ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३० औं वार्षिक साधारणसभा (क्षेत्र नं. १ र २ को संयुक्त क्षेत्रगत) को उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले आर्थिक गतिविधिको साथै सदस्यहरूको लागि विभिन्न सीपमूलक तालिमहरू, सरसफाइ गतिविधिहरू र युवाहरूको सक्रियता बढाउन रचनात्मक गतिविधि गर्नु पनि आवश्यक भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले सुरुदेखि नै बहुउद्देश्यीय सहकारी संस्थाहरु सञ्चालनमा रोक लगाउँदै आएको बताउ“दै उहाँले जनता सचेत भए संस्थाका सञ्चालकहरु सचेत र सतर्क रहने धारणा राख्नुभयो ।
भक्तपुर नपाले यहाँ सञ्चालित सहकारी संस्थाहरुमा नियमित अनुगमन गर्दै आएको बताउँदै उहाँले सहकारीका सञ्चालकहरुमा इमानदारिता र आर्थिक अनुशासन अपरिहार्य भएको बताउनुभयो ।
सार्वजनिक एवम् सरकारी जग्गा संरक्षण गर्नु स्थानीय तहको कर्तव्य भएको बताउँदै उहाँले भक्तपुर नपाले सार्वजनिक जग्गा संरक्षणकै क्रममा सल्लाघारीस्थित १०८ रोपनी जग्गालाई संरक्षण र व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरको आजको विकासमा धेरै अग्रजहरुको उल्लेखनीय भूमिका रहेको बताउँदै उहाँले शिक्षामा गरेको लगानीको प्रतिफलस्वरुप आज भक्तपुर ज्ञानविज्ञानको केन्द्र बन्न सफल भएको बताउनुभयो ।
कोभिड महामारीको संकटमा भक्तपुरका संघ संस्थाहरुले गरेको सहयोगको लागि भक्तपुर नपाको तर्फबाट आभार प्रकट गर्दै प्रमुख प्रजापतिले नगरबासी जनतालाई भक्तपुर नपाले निःशुल्क अक्सिजन र रगत उपलब्ध गराइ जनताको सेवा दिँदै आएको बताउनुभयो ।
साकोसका पूर्व अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी संस्थाहरुले साधारणसभा सञ्चालन गर्नुको उद्देश्यबारे प्रष्ट पार्दै २०५१ सालमा ३१ जनाको समूहले स्थापना भएको सिद्धिगणेश साकोसमा हाल १६ हजार भन्दा बढी सदस्यहरु भएको बताउनुभयो ।
साकोसले सदस्य वृद्धिसँगसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय कार्यहरु जस्तै स्वास्थ्य केन्द्र, तालिम हल, स्वास्थ्य शिविर आदि सञ्चालन गर्दै व्यापक जनताको हित हुने गतिविधिलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले साधारणसभालाई उपस्थिति भत्ता र खाजा खर्च लिने दिनको रुपमा नभई सहकारीको आर्थिक अवस्थाबारे सदस्यहरुलाई जानकार गराउने उद्देश्यले सञ्चालन हुन जरुरी रहेको बताउनुभयो । भक्तपुर नपाले बजार अनुगमन गर्दै अखाद्य र म्याद नाघेका वस्तुहरुलाई नष्ट गर्दै सरोकारवालाहरुलाई आवश्यकताअनुसार दण्डजरिवानाहरु पनि गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला बचत संघका कोषाध्यक्ष कान्छाभक्त घजुले सहकारी क्षेत्रबाट भएका राम्रा र उदाहरणीय कार्यहरुको प्रचार कम मात्र हुने गरेको बताउँदै सहकारीमा जम्मा भएको रकम विना धितो सदस्यहरुलाई ऋण प्रवाह गर्दा सहकारी संस्थाहरु संकटग्रस्त हुने गरेको बताउनुभयो ।
सिद्धि गणेश साकोसका सचिव विष्णुप्रसाद दुमरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छिमेकी संस्थाहरु लोकोश्वर बचत तथा ऋण सहकारी संस्थाका राजन जति, टोखास्थित मिर्मिरे साकोसका सचिव शैलेश डंगोलले सहकारी संस्थाहरुप्रति वितृष्ण फैलिएको समयमा भक्तपुरका समुदायमा आधारित सहकारी संस्थाहरुले उल्लेखनीय कार्यहरु गर्दै आएको र समाजवादी अवधारणाअनुसार सहकारी संस्थाहरु सञ्चालन हुनु जरुरी रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले असल बचतकर्ता र असल ऋणीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।