भक्तपुरको भेलुखेलस्थित तरकारी बजारमा सरसफाइ
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नपा वडा नं. ५ भेलुखेलस्थित तरकारी बजारमा आज सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र त्यहाँ अवस्थित विद्यालयका शिक्षक विद्यार्थीका प्रतिनिधिहरुको उपस्थितिमा भएको उक्त सरसफाइमा तरकारी बजारसँगै रहेको चउरमा सरसफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालीहरुको महान् चाड दशैं नजिकिएसँगै नगरका पीठहरुमा सरसफाइको कार्यक्रमहरु सुरु भएको बताउँदै सरसफाइ मानव सभ्यताको सम्भयता पनि भएको बताउनुभयो ।
नगर सफा र स्वच्छ भए मात्र त्यहाँ बसोबास गर्ने नागरिकहरुको पहिचान कायम हुने बताउँदै प्रमुख प्रजापतिले नागरिकहरुलाई सरसफाइप्रति जागरुक बनाउने उद्देश्यले भक्तपुर नपाले पाक्षिक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले सरसफाइ अभियानमा संलग्न सबैमा धन्यवादज्ञापन गर्दै नयाँ पुस्तालाई नगरको सरसफाइ र विकासमा सहभागी गर्ने लक्ष्यका साथ नपाले विविध गतिविधि सञ्चालन गर्दै आइरहेको बताउनुभयो । नगरबासीको साथ र सहयोगले भक्तपुरले आजको गौरवपूर्ण इतिहास हासिल गरेको बताउँदै उहाँले भनपाका हरेक काममा यहाँका जनताको साथ र सहयोग रहँदै जाने अपेक्षा राख्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नपाको आयोजनामा असोज १६ गतेबाट कृषि मेला आयोजना हुने अवगत गराउँदै उक्त मेलामा सहभागिताको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. २ का वडा सदस्य मन्जुमैंया लाखाले पनि बोल्नुभएको थियो ।