भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमणमा आउनुभएका दक्षिण कोरियाका चेओरन नगरपालिका प्रमुख लि ह्यु जोङलाई भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो ।
खादा र भादगाउँले टोपी, परम्परागत थैलीले प्रमुख जोङसहितको टोलीलाई स्वागत गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक पक्षबारे संक्षिप्त परिचय दिनुभयो ।
नेपाल उत्तर र दक्षिण कोरिया एकीकरणको पक्षमा रहेको बताउँदै नगर प्रमुख प्रजापतिले कोरियाली जनताको समृद्धिको लागि शुभकामना दिनुभयो ।
भक्तपुर देशकै सानो नगर भए पनि सांस्कृतिक पुरातात्विक हिसाबले महत्वपूर्ण नगर भएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणमा उल्लेखनीय कार्य गर्दै आइरहेको बताउनुभयो ।
२०७४ र २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकाका लागि प्रमुख, उप प्रमुखसहित सम्पूर्ण सदस्यहरु नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरु विजयी भएको अवगत गराउँदै जनताको सेवा नै यस पार्टीको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
उच्च शिक्षा अध्ययन, वैदेशिक रोजगारीको लागि धेरै नेपालीहरु कोरिया पुगेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले आत्मनिर्भर भएर बाँच्ने प्रयास गरिरहेको बताउनुभयो ।
भक्तपुर नपाले यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै विदेशी पर्यटकहरुसँग नगर प्रवेश शुल्कको व्यवस्था पनि गरिरहेको जानकारी दिनुभयो ।
दक्षिण कोरिणका नगर प्रमुख लि ह्यु जोङले विविधतायुक्त सांस्कृतिक नगरी भक्तपुरको भ्रमण गर्न पाउँदा आफू र आफ्नो टोली हर्षित भएको बताउँदै भक्तपुरको हस्तकला निकै राम्रो भएको र भक्तपुरको हस्तकलाबाट कोरियाले पनि सिक्न चाहेको बताउनुभयो ।
सांस्कृतिक सम्पदा संरक्षणमा भक्तपुर नपाले गरेको कामको प्रशंसा गर्दै प्रमुख जो·ले कोरिया र भक्तपुरबीच सांस्कृतिक आदानप्रदानको लागि इच्छुक भएको बताउनुभयो । उहाँले कोरियाली एकीकरणको लागि चासो व्यक्त गर्नुभएकोमा धन्यवादज्ञापन पनि गर्नुभयो ।
दुई नगर प्रमुखबीच भएको उक्त भेटमा दक्षिण कोरियाका चेओरन नगरपालिकाका उपप्रमुख वाङसहित लि हे जो, लि इन सिओङ, लिम ताइ सियोक, डा. याङलगायतको उपस्थिति रहेको थियो । उहाँहरुबीच उपहार आदानप्रदान पनि भएको थियो ।