अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको असवरमा भक्तपुरका १०० जना ज्येष्ठ नागरिक सम्मानित
भक्तपुर । २०८१ असोज १५ गते, मंगलवार
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी भक्तपुर नगरालिकाका १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ज्येष्ठ नागरिकहरुलाई फूलमाला र दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले ज्येष्ठ नागरिकहरुको सुस्वास्थ र दिर्घायुको कामना गर्दै ज्येष्ठ नागरिकलाई पनि संगठित बनाई सामाजिक गतिविधिमा क्रियाशील बनाउन सके समाजको लागि फलदायी हुने बताउनुभयो ।
परिवार र समाजबाट वृद्धवृद्धाहरु अपहेलित र टाढिने क्रम बढिरहेकोमा चिन्ता प्रकट गर्दै उहा“ले ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभव नया“ पुस्ताका लागि मार्गदर्शनको रुपमा काम गर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले स्वास्थ खानपान, जीवनशैली, समयमै स्वास्थ्य उपचार, सरसफाइ आदिले पनि ज्येष्ठ नागरिकहरुको आयुलाई लम्ब्याउन सकिने धारणा राख्नुभयो ।
उहाँले भक्तपुर नपाले ज्येष्ठ नागरिकको लागि आदर निकेतन सेवा छिटै सञ्चालनमा ल्याउने विश्वास व्यक्त गर्दै स्थानीय तहका जनप्रतिनिधिहरुले नगरभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरुको तथ्यांक संकलन गरी आवश्यक सेवा सुविधा प्रदान गरी सहयोगी भूमिका खेल्नुपर्छ भन्नुभयो ।
त्यस्तै कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ज्येष्ठ नागरिक समाजका आदर्श पात्र हुन् र उहाँहरुको सम्मान गर्नु सबैको कर्तव्य र जिम्मेवारी भएको बताउनुभयो ।
उमेर बढेसँगै ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा समस्या आउने, ढाड दुख्ने, खुट्टा दुख्ने जस्ता शारीरिक समस्याहरु बढ्दै जाने बताउँदै उहाँले भक्तपुर नपाले नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी विभिन्न स्थानमा शारीरिक व्यायामस्थलको व्यवस्था गर्दै आएको बताउनुभयो ।
नेमकिपाको आह्वानमा भएको मोहियानी हक सुरक्षाको आन्दोलन, भपाई आन्दोलन, बाली काट्ने आन्दोलनमा भाग लिने अग्रजहरुमा सम्मान प्रकट गर्दै उहाँले किसानहरुले मोहियानी हक र गुठी जग्गा रैतानीको हक अग्रज कार्यकर्ताहरुले गरेको संघर्षको प्रतिफल भएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले भनपा वडा नं. ६ खँचामा ज्येष्ठ नागरिकको लागि आदर निकेतन सञ्चालन गर्ने आवश्यक तयारीहरु गरिरहेको बताउँदै भक्तपुरको कला संस्कृति, चाडबाड नयाँ पुस्तामा पुस्तान्तरण गर्न ज्येष्ठ नागरिकहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले युवाहरु विदेशिने क्रम बढेसँगै समाजमा ज्येष्ठ नागरिकहरु एक्लिँदै गएको बताउँदै ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चितताको लागि यस दिवसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैंया सुवालले भक्तपुरमा नपामा सामाजिक सुरक्षा प्राप्त गर्ने ज्येष्ठ नागरिकहरुको संख्या ४ हजार ९२४ जना रहेको बताउँदै ज्येष्ठ नागरिकहरुले इज्जतपूर्वक बाँच्ने अधिकारको सुनिश्चित हुनु आवश्यक भएको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बढ्दो उमेरसँगै लाग्ने रोग र त्यसको जोखिमबारे सजग बनाउँदै ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्य राम्रो बनाउनतर्फ परिवारले ध्यान दिनुपर्छ भननुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक मनाउनुको उद्देश्यबारे प्रष्ट पार्नुभयो ।
सम्मानित ज्येष्ठ नागरिकहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट पानी तताउने इलेक्ट्रिक जग, फलफूल र बिस्कुट पनि उपहारस्वरुप प्रदान गरिएको थियो ।