भक्तपुर ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको दृष्टिले देशकै महत्वपूर्ण नगर हो : प्रमुख प्रजापति
भक्तपुर । २०८१ असोज ७
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको आयोजनामा भएको अमूर्त संस्कृतिसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रशान्त क्षेत्रका विश्वविद्यालयको साधारणसभामा सहभागी विदेशी प्राध्यापक प्रतिनिधिमण्डललाई सोमबार भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो ।
टोलीलाई स्वागत गर्नुहुँदै प्रमुख प्रजापतिले त्रिभुवन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्व विभाग र नगरपालिकाबीच समन्वय र सहकार्य हुँदै आएको स्मरण गर्दै उहाँले २०८१ वैशाख २५ गते भक्तपुर नगरपालिका र त्रिविवि नेपाली इतिहास, संस्कृति र पुरातत्व, केन्द्रीय विभागको सहकार्यमा ‘भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धनात्मक कार्यशाला गोष्ठी’ सम्पन्न भइसकेको र भविष्यमा पनि त्यस्ता कार्यक्रमहरु आयोजना गर्दै विश्वास व्यक्त गर्नुभयो ।
आजभन्दा २० वर्षअघि नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित)ले द्वारा लिखित ‘१०० वर्षपछिको भक्तपुर’ पुस्तक अहिले भक्तपुर विकासको मार्गचित्र बनेको छ, प्रमुख प्रजापतिले भन्नुभयो ।
भक्तपुर नगरपालिकाले २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएको र ती कलेजहरुले हरेक वर्ष विभिन्न विषयमा राष्ट्रिय सम्मेलन र २ वर्षको एकपटक अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गर्दै आएको अवगत गराउनुहुँदै आगामी अन्तर्राष्ट्रिय सम्मेलनमा यहाँहरुको विश्वविद्यालयहरुबाट पनि सहभागिताको अपेक्षा गर्नुभयो ।
देशको सानो नगर मध्ये एक भक्तपुर ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको दृष्टिले देशकै महत्वपूर्ण नगर भएको बताउँदै सांस्कृतिक नगर, नाचगानको राजधानीको रुपमा परिचित यस भक्तपुर नगरमा मूर्त र अमूर्त कला संस्कृति तथा सम्पदाहरु जीवन्त रहेको बताउनुभयो ।
भक्तपुर नपाले लोप भइसकेका सम्पदाहरुको अध्ययन, अनुसन्धान र उत्खनन् गर्दै प्राचीन मौलिकतालाई ध्यान दिएर संरक्षण गर्दै आइरहेको बताउनुहुँदै उहाँले २०७२ सालको भूकम्पले सयौं सम्पदाहरुलाई क्षति पु¥याए पनि हामीले यस ७ वर्षको अवधिमा विदेशी सहयोग विना जस्ताको तस्तै पुनःनिर्माण र जिर्णोद्धार गरिसकेको अवगत गराउनुभयो ।
भक्तपुरको प्राचीन मौलिकता बचाइ राख्न र मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणका लागि भक्तपुर नपाले २०५० सालदेखि पर्यटन शुल्क उठाइ आएको बताउनुहुँदै प्रमुख प्रजापतिले पर्यटन शुल्कबाट भक्तपुरका सम्पदाहरुको संरक्षणसँगै शिक्षा, स्वास्थ्य, सरसफाइलगायतको क्षेत्रमा खर्च गर्दै आएको प्रष्ट पार्नुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले भक्तपुरको सांस्कृतिक, ऐतिहासिक तथा नगरको समग्र विकास निर्माणबारे संक्षिप्तमा प्रस्तुतीकरण देखाउनुभएको थियो ।
कार्यक्रममा सहभागीको तर्फबाट फिलिपिन्सका प्राध्यापक एरिकले भक्तपुरले गरेको न्यानो स्वागतको लागि धन्यवादज्ञापन गर्दै भक्तपुर भ्रमण अविस्मरणीय रहने बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
प्रतिनिधि टोलीमा बंगलादेश, दक्षिण कोरिया, उत्तर कोरिया, श्रीलंका, नेपाल, थाइल्याण्ड, चीन, भियतनाम, भारत, फिलिपिन्सलगायतका देशबाट ३० भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको थियो ।
प्रतिनिधिमण्डल टोलीलाई नगर प्रमुख प्रजापतिले भक्तपुर नपाको ऐतिहासिक फोटो भएको पिक्टोरियल बुक र नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो ।