प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
भक्तपुर । असोज ९, बुधबार
भक्तपुर नगरपालिकाको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थय, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा गरिरहेको उदाहरणीय कार्यले नगरपालिकाको प्रतिष्ठा अझ उँचो हुँदै गएको बताउनुभयो ।
भक्तपुर नपाले भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरुलाई अमूल्य सम्पत्तिको रुपमा संरक्षण गर्दै नयाँ पुस्ताको सेवा गर्दै आइरहेको बताउँदै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएका कामदारहरुलाई इमानदारीपूर्वक आफ्नो काम गर्न अभिप्रेरित गर्नुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गरिने भक्तपुर नगरपालिकाको कामलाई इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिँदै कुनै पनि काम सानो ठूलो हुँदैन र रोजगारलाई हेयको दृष्टिले हेर्न नहुने उहाँको भनाइ दियो ।
नागरिकलाई सार्वजनिक सम्पत्ति संरक्षण र त्यसप्रतिको अपनत्व ग्रहण गराउनु नपाको उद्देश्य भएको बताउँदै प्रमुख प्रजापतिले रोजगारीले नागरिकको जीवन उकास्छ र रोजगारीको लागि हातमा कुनै न कुनै सीप हुन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले प्रधानमन्त्री रोजगार कार्यक्रमको आवश्यकता र भक्तपुर नगरपालिकाले गरिरहेको गतिविधिबारे जानकारी गराउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताबारे बेलाबखतमा प्रश्नहरु उठ्ने गरेको प्रसंग जोड्दै उहाँले यस कार्यक्रमबाट बेरोजगार व्यक्तिहरु लाभान्वित भएका छन्, उपप्रमुख जोशीले भन्नुभयो ।
महिला रोजगारीले देश र समाजमा सकारात्मक प्रभाव पार्ने बताउँदै उहाँले भक्तपुरको सरसफाइ र विकासमा भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले देशमा बेरोजगारको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको बताउँदै प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएकाहरुले इमानदारीपूर्वक आफ्नो काम गर्न प्रेरित गर्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले रोजगारी सिर्जना गरी आम जनताको जीवनस्तर माथि उकास्ने यसको प्रमुख उद्देश्य रहेको बताउँदै आफ्नो काम र कर्तव्यबारे ससूचित हुनुपर्नेमा जोड दिनुभयो । वडाध्यक्ष ज्याख्वले समुदायमा आधारित सहकारी संस्थाहरुमा मात्र आफ्नो बचत रकम जम्मा गर्न मार्गनिर्देश गर्नुभयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले कार्यक्रमको उद्देश्य र आवश्यकताबारे प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक लक्ष्मी प्रजापतिले १०० दिनको प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय, उद्देश्य, लक्ष्य आदिबारे प्रस्तुतीकरणमार्फत अभिमुखीकरण गर्नुभयो ।
भक्तपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३५० जनाले फारम भरेको मध्ये ६५ जनाले १०० दिनको लागि रोजगार पाएका छन् ।