Explore news and happenings at Bhaktapur

ख्वप अस्पतालले एक वर्षमा २ लाख ५३ हजार भन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले आ.व. २०८०।८१ मा ७० भन्दा बढी जिल्लाका २ लाख ५३ हजार बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको अस्पतालले जनाएको छ । यो आ.व.मा २०७९।८० को भन्दा ३३ हजार बढी हो । आ.व. २०७९।८० मा ७२ जिल्लाका २ लाख २० हजार ४ सय बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको थियो ।
भक्तपुर नगरपालिकाबाट संचालित जनस्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा २०७८ सालमा कोभिडबाट जनता आक्रान्त भएको बेला ख्वप अस्पतालको नाउँबाट सेवा सुरु गरेको हो । २५ शैय्याको ख्वप अस्पताल स्वीकति २०७३ सालमै पाए पनि जनस्वास्थ्य केन्द्रकै नाउँमा सेवा दिइरहेको थियो ।
उक्त अस्पतालले इन्टरनल मेडिसिन, नाक—कान—घाँटी, स्त्री रोग, हाडजोर्नी, दन्त रोग, बाल रोग, छाला रोग, युरोलोजी, नशा रोग, मानसिक रोग, मुटु रोगलगायतको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा विभिन्न रोगको ३३ जना विशेषज्ञसहित ५० जनाभन्दा बढी चिकित्सक र २०७ जना जनशक्तिले सेवा दिइरहेको छ ।
जनताको लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको ख्वप अस्पतालमा विशेषज्ञ सेवा ८०।— रुपैयाँ र मेडिकल अफिसरको सेवा ५०।— रुपैयाँमा प्राप्त गर्न सकिन्छ । अस्पतालले छोटो समयमै विभिन्न रोगको १८०० वटा भन्दा बढी शल्यक्रिया गरिसकेको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको कारण ख्वप अस्पतालले जनताको अस्पतालको परिचय पाएको छ ।
२०७९ सालमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट १०० शैय्याको स्वीकृति पाएपछि अस्पतालले सेवा विस्तार गर्दै छ । च्याम्हासिंह र ब्रम्हायणी गरी दुई ठाउँबाट सेवा प्रदान गरिरहेको अस्पतालले भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको २ वर्षको अवसर पारी असार ७ गतेबाट आइसियु सेवा पनि सुरु गरेको थियो । ख्वप अस्पताल सुविधासम्पन्न अस्पतालको रुपमा विकास हुँदैछ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले ख्वप अस्पताललाई स्तरोन्नति गरी १०० शैय्याको सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने, वडा वडामा स्वास्थ्य उपचार केन्द्रको विस्तार गरी विशेषज्ञ चिकित्सकहरुसहितको नियमित स्वास्थ्य शिविर सञ्चालन गर्नेलगायत प्रतिबद्धता गरेको थियो । निर्वाचनपछि ख्वप अस्पताल १०० शैय्यामा स्तरोन्नति गर्नुका साथै भनपा वडा नं.१ सल्लाघारी, भनपा वडा नं. २ ब्यासी, भनपा वडा नं. ५ भगवतीस्थान, भनपा वडा नं. ९ दतात्रयमा चिकित्सकसहित स्वास्थ्य सेवा प्रदान गर्नुका साथै च्याम्हासिंहमा ख्वप अस्पतालमार्फत सेवा दिइरहेको छ । जुनसुकै केन्द्रमा रगत, दिसाब, पिसाब परिक्षणको लागि छोडे पनि ल्याब रिपोर्ट त्यही केन्द्रमा पुर्या‍‍उने व्यवस्था अस्पतालले मिलाउँदै आएको छ । यस आ.व. २०८१।८२ मा भनपा ७ खँचा र भनपा १० बेखालमा पनि स्वास्थ्य केन्द्र सञ्चालनको लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
भक्तपुर नगरपालिकामा घरदैलो नर्सिङमार्फत घरघरमा गएर सेवा प्रदान गरिरहेको छ भने अस्पताले नियमित रुपमा वडा वडामा पाठेघर र स्तन क्यान्सर, आँखा, हाडजोर्नी, नाक कान र घाटी, स्वास प्रश्वास सेवालगायतको विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविरहरु पनि सञ्चालनमा सहयोग गर्दै आइरहेको छ ।
भक्तपुर नगरबासीहरुको लागि चाहिने अक्सिजन र रगत पनि ख्वप अस्पतालले निःशुल्क वितरण गर्दै आएको छ । महिनाको करिब १००० सिलिण्डर अक्सिजन वितरण गर्दै आएकोमा नगर बाहिरका बासिन्दाहरुका लागि ठूलो सिलिन्डरको १०० रुपैयाँ र सानो सिलिण्डरको रु. ५० मा वितरण गर्दै आएको छ । बाहिर खरिद गर्दा ६।७ सय रुपैयाँ प्रति सिलिन्डरको मूल्य तिर्नुपर्दछ । जनताको सेवा गर्ने भावनाले भइरहेको यस कामको सर्वत्र चर्चा भइरहेको छ ।
नेपाल मजदुर किसान पार्टीका हरेक कार्यकर्ता ‘जनताको सेवा गर्नेभावनाबाट प्रेरित भएर काम गरिरहेका छन् । गरिबीको कारण कुनै पनि नागरिक उपचारविना मर्न नपरोस् भनी ख्वप अस्पतालमा विपन्न उपचार कोष खडा गरी गरिब र विपन्न वर्गका बिरामीहरुलाई निःशुल्क उपचार सेवा पनि प्रदान गर्दै आएको छ ।
यस वर्षदेखि सिटी स्क्यान सेवा बिस्तार गर्ने उद्देश्यले खरिद प्रक्रिया अगाडि बढाइएको छ भने फिजियो थेरापी सेवा विस्तार गर्न थप उपकरणहरु खरिदको लागि प्रक्रिया पनि अगाडि बढाइएको छ । जनताको माग र आवश्यकता बढ्दै गएसँगै अस्पतालले सेवा विस्तारलाई थप व्यवस्थित गर्दै लाने कोसिस गरिरहेको देखिन्छ ।
समाजवादउन्मुख राज्य व्यवस्थामा स्वास्थ्य उपचार सेवा राज्यको दायित्वभित्र पर्नुपर्ने हो तर अहिले स्वास्थ्य उपचारलाई पनि विनिमयको वस्तु बनाइएको छ । धनीहरुका लागि ठूला र आधुनिक सुविधासम्पन्न थुप्रै अस्पतालहरु छन् । त्यहाँ गरिब र सामान्य नागरिकले उपचार गराउन सक्दैनन् । ती अस्पताल भन्दा पनि पैसा कमाउन स्थापना गरिएका स्वास्थ्य उद्योगहरु हुन् । राजधानीमा संचालित ती अस्पतालहरुले वर्षको अरबौंको व्यापार गर्छन् । उनीहरु गरिबहरुको ज्यानभन्दा नाफालाई महत्व दिन्छन् । उनीहरु पैसा तिर्न सक्नेहरुले मात्रै बाँच्ने अधिकार राख्छन् भन्ने सोच्छन् ।
निजी अस्पतालहरुले मृत्यु भइसकेको मान्छेलाई समेत भेन्टिलेटनरमा राखेर उपचार गरेका नाउँमा कतिको घरखेत बेच्न लगाएर पैसा असुल्ने गरेका उदाहरणहरु छन् । उपचार खर्च तिर्न नसकेर अस्पतालको छटबाट हाम फालेर आत्महत्या गर्नु, लासलाई अस्पतालमै छोडेर परिवार बेपत्ता हुनु यसका उदाहरण हुन् ।
भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्य उपचारको लागि कुनै समस्या नहोस् भनी श्वासप्रश्वास पुनःस्थापना केन्द्र, आफ्नै व्यवस्थापनमा ख्वप तीलगंगा आँखा अस्पताल र नगरस्तरीय नागरिक आरोग्य केन्द्र (आर्युवेदिक) सञ्चालन गर्दै आएको छ । केन्द्र सरकारको पूर्ण स्वामित्वमा रहेको भक्तपुर क्यान्सर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पनि भक्तपुर नगरभित्रै छ । बागमती प्रदेश अन्तर्गतको भक्तपÒर अस्पतालले पनि राम्रो सेवा दिइ रहेको छ । यसबाट धेरै रोगहरुको उपचार भक्तपुरमा सम्भव हुँदै गइरहेको छ ।
सरकारी अस्पतालहरुले राम्रो सेवा प्रदान गरेमा निजी अस्पतालहरुको औचित्य घट्दै जानेछन् । यो कुरा भक्तपुरस्थित ख्वप अस्पताल, भक्तपुर अस्पताल र अन्य अस्पतालहरुले दिएको सेवाबाट पुष्टि ह’ँदै छन् । भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा समाजवादनउनमुख कार्य गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.