Explore news and happenings at Bhaktapur

भनपा वडा नं. ९ स्थित पाली फः फल्चा उद्घाटन

भक्तपुर । २०८१ साउन १६, बुधबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा भनपा ९ साकोलानस्थित पुनःनिर्मित पालि फः फल्चाको बुधबार एक कार्यक्रमबीच रिबन काटेर समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिमा बसी काम गर्ने सबैमा धन्यवादज्ञापन गर्दै भक्तपुर नपाले कसैको सहयोगविना आफ्नै बलबुत्तामा यहाँका सम्पदा पुनःनिर्माण कार्यलाई तीव्रता दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले सँधै आत्मनिर्भरतालाई जोड दिँदै आएको बताउँदै उहाँले पर्यटन शुल्कबाट उठेको रकमले नगरको समग्र विकासमा थप टेवा पुगेको बताउनुभयो ।
वडाहरुको सम्भावना र आवश्यकताअनुसारको विकासमा जोड दिँदै आएको बताउँदै उहाँले उपभोक्ता समितिहरुले गरेको पारदर्शी कामकै कारण भक्तपुरमा सबै विकास निर्माणका कार्यहरु उपभोक्ता समितिबाट पुनःनिर्माण गर्न सम्भव भएको बताउनुभयो ।
भक्तपुरले शिक्षा र स्वास्थ्यमा गरेको उल्लेखनीय कामबारे धेरैले चासो व्यक्त गर्नुका साथै भक्तपुरको कामलाई प्रशंसा पनि गर्दै आएको बताउँदै उहाँले उपभोक्ता समितिबाट भएका काममा पारदर्शिता, अपनत्व र मौलिक सीप र स्रोतको समेत सदुपयोग हुँदै आएको छ भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नगरपालिकाले गर्ने हरेक गतिविधिमा आर्थिक पारदर्शिता भए मात्र जनताको विश्वास कायम रहने बताउँदै भक्तपुरका सांस्कृतिक सम्पदा पुरानै शैलीमा पुनःनिर्माण गर्ने प्रयास भएको बताउनुभयो ।
नगरका गल्ली गल्लीका चोक र सडकहरु स्तरोन्नति गर्ने कामहरु भइरहेको बताउँदै उहाँले सम्पदाप्रति जनताले अपनत्व ग्रहण गरेसँगै सम्पदाहरु संरक्षण हुँदै जाने बताउनुभयो ।
भक्तपुर नगरपालिका सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले साकोलानस्थित पालि फः फल्चा भक्तपुरकै पृथक शैलीका फल्चा रहेको बताउँदै उक्त फल्चा मौलिक शैलीमै संरक्षण गरी भक्तपुर नपाले उल्लेखनीय काम गरेको बताउनुभयो ।
कार्यक्रममा पालि फः फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर मानन्धरले उपभोक्ता समितिमा बसी निःस्वार्थ रुपमा काम गर्नेहरुलाई प्रोत्साहित गरिहनुपर्ने बताउनुभयो ।
समितिका कोषाध्यक्ष अलिसा मानन्धरले फल्चा पुनःनिर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भक्तपुर नपाको आर्थिक सहयोगमा निर्मित पालि फः फल्चा पुनःनिर्माणको लगत इस्टिमेट रु. ३९ लाख ५१ हजार ७९९ र खर्च रु. ३२ लाख ५९ हजार २१७ रहेको अवगत गराउनुभयो ।
कार्यक्रममा उपभोक्ता समितिका सदस्य रामकृष्ण मानन्धरले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.