नवनियुक्त शिक्षकहरुलाई बधाई ज्ञापन तथा शिक्षक भेला
मिति २०८१ असार २९ गते शनिबार ।
भक्तपुर, २९ असार । शिक्षक सम्पर्क समिति, भक्तपुरको आयोजनामा शिक्षक सेवा आयोगबाट २०८० मा नियुक्ति भई विभिन्न जिल्लामा कार्यरत भक्तपुरका शिक्षकहरूको भेला सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त भेलामा उहाँले नवनियुक्त शिक्षकहरूलाई बधाई ज्ञापन गर्दै दुर्गम विकट अनि पिछडिएको ठाउँ भनी कुनै पनि स्थानलाई हेयको दृष्टिले नहेरी त्यस्तै ठाउँलाई उजिल्याउन हामी अग्रसर हुनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “कुनै बेला मलेसिया त्यस्तै पिछडिएको अवस्थामा थियो† त्यहाँ जनताले कठोर परिश्रम गरेर स्थिति परिवर्तन गरेका छन् । मलेसियाले आज संसारको ध्यान खिचेको छ ।”
भेलामा उपस्थित हामी जो जहाँ नियुक्ति भए पनि शैक्षिक, सामाजिक, प्राविधिकलगायत हरेक क्षेत्रमा सकारात्मक परिवर्तन आएको अनुभूति हुने गरी काम गर्न सुझाव दिँदै उहाँले बृहत् सोचका साथ इमानपूर्वक देश र जनताको सेवामा लाग्नुपर्छ भन्नुभयो ।
देशको राजनीतिक अवस्था अस्थिर छ† शिक्षा सरकारको प्राथमिकतामा पर्दैन भन्दै उहाँले कृषिप्रधान भन्ने देशमा कृषि कलेज विद्यार्थीविहीन अवस्थामा पुग्नु अत्यन्त विडम्बना पूर्ण छ भन्नुभयो । देशको शिक्षा नीति विदेशीको सल्लाहमा बनेकोमा आपत्ति जनाउँदै उहाँले अहिलेको नीतिले विदेशलाई सस्तोमा ज्यामी उत्पादन गरिरहेको प्रस्ट पार्नुभयो ।
देशको माटो सुहाउँदो शिक्षा नीति नहुँदा शिक्षित युवा बिदेसिएको चर्चा गर्दै उहाँले शिक्षा श्रम र सीपसित जोडिनुपर्नेमा जोड दिनुभयो ।
हालै प्रकाशित एसईईमा ५३ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुमा सरकारै जिम्मेवार रहेको बताउँदै उहाँले विद्यालयलाई आवश्यक विषय शिक्षकसम्म दिन नसकेपछि योभन्दा राम्रो के आउँछ भनी प्रश्न गर्नुभयो ।
देश सङ्घीयतामा गइसकेपछि शिक्षा विकास तथा समन्वय एकाइ’ को नाममा जिल्लास्तरीय कार्यालय राखिएकोमा आपत्ति जनाउँदै उहाँले सङ्घीयतालाई सबल बनाउन केन्द्रको अधिकार बढीभन्दा बढी विकेन्द्रित गरिनुपर्ने बताउनुभयो ।
सरकारले हालै जारी गरेको शिक्षा सरुवा कार्य निर्देशिकाले पालिकाको अधिकार पुनःकेन्द्रिकृत गर्न खोजिएको हुँदा त्यो निर्देशिका कुनै पनि पालिकालाई स्वीकार्य नहुने बताउनुभयो ।
सरकार परिवर्तनको नयाँ समीकरणले देशमा दुईदलीय तानाशाहीको सम्भावना बढेकोमा नेमकिपाले पहिलेदेखि नै त्यसको विरोध गर्दै आएको बताउनुभयो ।
भेलामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षक नियमावलीले घरपायक शिक्षक सरुवा हुन पाउने शिक्षकको अधिकार हालै सरकारले जारी गरेको ‘शिक्षक सरुवा कार्य निर्देशिका’ ले खोसिएको बताउँदै सर्वाेच्च अदालतमा त्यसविरुद्ध परेको रितबाट शिक्षकले न्याय पाउने आशा व्यक्त गर्नुभयो ।
काठमाडौँ उपत्यकाका रैथानेहरूलाई उपत्यका बाहिर पठाउने र बाहिरकालाई उपत्यका भित्याउने काम नियोजित ढङ्गले नै भइरहेको चर्चा गर्दै उहाँले अब बन्ने सरकारले उक्त निर्देशिका खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
खस बडाराष्ट्र अहङ्कारवादले जातीय द्वन्द्व निम्तिन सक्नेतर्फ सचेत पार्दै उहाँले पालिकाको अधिकार शिक्षक सरुवा कार्य निर्देशिकाले खोसिएको हुँदा नगर वा गाउँपालिकाले घरपायकलाई मात्र सरुवा लिने नीति बनाउन आग्रह गर्नुभयो ।
आयोजक समितिका संयोजक गोपालसुन्दर गोसाईको सभापतित्वमा भएको उक्त भेलामा नेक्राशिसङ्घ जिल्ला समितिका अध्यक्ष गणेशराम थुसा, आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसी, राकेश सुकुपायो र सरजु फसिकवले पनि बोल्नुभएको थियो ।
भेलामा नवनियुक्त शिक्षकहरूलाई बधाईका साथ सम्मान गरिएको थियो ।



