ख्वप्रिङ एकेडेमीबाट एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई नगर प्रमुख प्रजापतिको बधाई
भक्तपुर । २०८१ असार २७, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा ख्वप्रिङ इंगलिश एकेडेमीबाट शैक्षिक वर्ष २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी तथा उच्च ग्रेडका साथ परीक्षा उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशा कर्यक्रम बिहीबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिँदै उहाँले अब कक्षा ११ मा भर्ना हुँदा आफ्नो रुचिको विषय छनोट गर्न सुझाव दिनुभएको छ ।
कार्यक्रममा बोल्दै उहाँले एसईईमा ५३ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुले देशको शिक्षा गुणस्तर खस्किएको र देशका शिक्षकहरु कमजोर भएको प्रष्ट हुन्छ भन्नुभयो ।
जिल्ला जिल्लामा गणित, विज्ञान, अंग्रेजी शिक्षकको अभावले गर्दा शैक्षिक गुणस्तर खस्कँदै गएको बताउँदै सरकारले भौतिक पूर्वाधार र जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
शिक्षामा वैदेशिक प्रभावले पनि नेपालको शिक्षा झन् कमजोर बन्दै गएको बताउँदै उहाँले विद्यार्थीहरुको मेहेनत र परिश्रमले नै उनीहरुलाई जीवनमा सफल बनाउन मद्दत पु¥याउने बताउनुभयो ।
कार्यक्रममा ख्वप्रिङ एकेडेमीका सल्लाहकार ज्ञानसागर प्रजापतिले अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त अंकको आधारमा भन्दा पनि आफ्नो क्षमता र रुचिको आधारमा विषय छनोट गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । विद्यार्थीहरुमा उत्कृष्ट जीपीएसँगै असल संस्कार र आचरण उच्च हुनु जरुरी रहेको बताउँदै शिक्षामा चोरी चकारी नियन्त्रणविना शैक्षिक गुणस्तर कायम गर्न सम्भव नभएको उहाँले प्रष्ट पार्नुभयो । विद्यार्थीहरु गलत मान्छेको प्रभावले बिग्रिने सम्भावना भएको हुँदा शिक्षकहरु समाज बनाउने सामाजिक इन्जिनियर हुन् भन्नुभयो ।
विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिले विद्यार्थीहरुले आफ्नो क्षमता, अवस्था र आवश्यकतालाई बुझेर अगाडि बढे सफलता पाउने बताउँदै उच्च शिक्षा अध्ययनमा कलेज र विषय छनोटमा विेशेषत ध्यान दिइ मेहेनत र लगनशीलतामा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र प्रजापति, सहायक प्रअ निरन्जन प्रजापति र पूर्व विद्यार्थी अनुस्का प्रजापतिले विद्यार्थीहरुलाई असल बाटोमा लाग्न प्रेरित गर्दै जीवनमा हार र जीत स्वाभाविक रुपमा लिई अगाडि बढ्न मार्गनिर्देश गर्नुभयो ।




Grow