भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिको आयोजनामा सरसफाईकर्मी भेला नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शुक्रवार भनपा सभाकक्षमा सम्पन्न भयो ।
प्रमुख अतिथि सुनिल प्रजापतिले देशको राजनीतिक अस्थिरताले अहिले संसदमा विश्वासको मत लिनु पर्ने अवस्था आएको बताउँदै राजनैतिक स्थिरताको लागि दलहरु जिम्मेवार हुनु पर्ने बताउनुभयो । उहाँले संसारका मजदुर एक हौं भने नारा समाजवादको निम्ति र समाजवाद समाजको उत्थानको निम्ति भएको बतउनुभयो । उहाँले जिम्मेवारी पूर्वक इमान्दार भई कर्तव्य पुरा मेहनती भई बेलायतका प्रधानमन्त्री समेत हुन सफल भएका उदाहरण प्रस्तुत गर्दे मानिस जन्मिदा अन्तरनिहित क्षमताहरु बोकेर जन्मिने भएकोले सफाईमा कार्यरत कर्मचारीहरु पनि त्यसरी काम गर्न निर्देशन दिनुभयो । उहाँले अल्छिले भात पाक्दैन भने उखान भएकोले कर्मचारीहरु अल्छि बन्न नहुने बताउँदै सकृय र अध्ययनशील बन्नुपर्ने बताउनुभयो । उहाँले विद्धानलाई सबैले पुज्ने भएकोले कर्मचारीहरु पनि हरेक क्षेत्र जानकार व्यक्तित्व र शिक्षित भई असल र राम्रो व्यवहारीक हुनुपर्ने बताउनुभयो । उहाँले काम ठूलो सानो नहुने बताउँदै हरेको हातमा सीप भए मात्र खान पाउने बताउँदै कामलाई घृणा होइन सम्मान गर्नुपर्छ बरु जतिसुकै धनी भएपनि काम नगर्ने ठगलाई इज्जत दिनुहुन्न भन्नुभयो । कर्मचारीहरुले सन्तुलित भोजन, अनुशासन र कामको आचारसंहित, व्यवहार सुधार गर्नुपर्ने बताउँदै मतवाली जात भन्दै जाँडरक्सी खाने होइन बरु मध्यपान धु्रमपान त्याग्नु पर्ने बताउनुभयो । उहाँले सफाईमा काम गर्ने कर्मचारीहरु आफै सफासुग्घर नभए उसले सफा गर्नेमा आशंका गर्ने भएकोले सफासुग्घर भई जनताको विश्वास जित्नुपर्ने बताउनुभयो । उहाँले अहिले घरघरबाटै कुहिने र नकुहिने फोहर छुट्याई संकलन गरिरहेकोमा सफाई मजदुरले सफा गर्दा पनि कुहिने र नकुहिने फोहर छुट्याउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा वातावरण समितिका सदस्य एवम् ४ नं वडाध्यक्ष उपेन्द्र सुवालले सरसफाईमा बढी जनगुनासो आए पनि सफाई मजदुरहरुलाई पुरस्कृत र सम्मान गरिरहेको बताउँदै कर्मचारीहरुले जिम्मेवारीवहन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा श्यानिटेशन उपशाखा प्रमुख दिलिप कुमार सुवालले जीवन शैलि परिवर्तनसंगै फोहर बढेको अवस्थामा सफाइमा अग्रस्थानमा रहेको र देशविदेशमा नाम कमाएको र फोहर संकलन केन्द्रहरु धेरै कम गरि सकेकोमा हाल आएर जथाभावी फोहर राख्ने र सफाई मजदुरहरुको काममा शिथिलता आई फोहर देखिएको बताउनुभयो । उहाँले गाडी र ट्राईसाइकलबाट घरदैलो कुहिने र नकुहिने फोहर संकलन गर्दा र ईट्टा र ढुंगा छपाई बाटोमा सफाई मजदुरहरुलाई काममा धेरै सजिलोपन आएपनि राम्रोसंग काम नगरेको बताउनुभयो । उहाँले मठमन्दिर, पाटीपौवा, पोखरीहरुमा सरसफाई लेउ लागेको भित्ताहरु सफा गर्नुपर्ने बताउँदै ती सफाई गरेको फोहर छुट्याउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा वडानिरिक्षक रामकृष्ण प्रजापतिले भक्तपुर सरसफाईको इतिहास बोकेको नगर एसियाको सरसफाईमा उत्कृष्ट बन्न सफल भई अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्न सफल भएको बताउँदै नछुट्याए फोहर र छुट्याए मोहर हुने भएकोले फोहर छुट्याई कुहिनेको कम्पोष्ट मल र नकुहिनेको रिसाईकल र रियुज गर्नुपर्ने बताउनुभयो । उहाँले फोहरले वातावरण प्रदुषणमा प्रभाव पारेकोले देशमा अतिबृष्टि र अनाबृष्टिले बाढी पहिरो लगायत विभिन्न रोगहरु बढेको बताउनुभयो । उहाँले प्लाष्टिक पेट्रोलियम पदार्थ भएकोले बाल्दा त्यसको धुवाले क्यान्सर जस्ता रोग निम्तिने र डम्प गर्दा कुहिन हजारौं बर्ष लाग्ने भएकोले प्लाष्टिकको झोलाको सट्टा कपडाको झोला प्रयोग गर्नुपर्ने बताउनुभयो ।



