Explore news and happenings at Bhaktapur

पुजारी मठ माटो जोडाइबाट पुनःनिर्माण गरिने

भक्तपुर । २०८० फागुन २० गते, आइतबार

0
पुरातत्व विभागको चालु आ.व. २०८०।८१ को स्वीकृत कार्यक्रमअन्तर्गत भक्तपुर दरबार क्षेत्र परिसरमा अवस्थित लाल बैठक संरक्षण कार्य र भक्तपुर दत्तात्रयस्थित पुजारी मठ पुनःनिर्माण कार्यबारे सरोकारवालाहरूसँग छलफल कार्यक्रम आइतबार सम्पन्न भयो ।
पुजारी मठ पुनःनिर्माणमा देखिएको समस्याबारे छलफलको लागि बोलाइएको उक्त बैठकले पुजारी मठ मौलिक स्वरुपअन्तर्गत माटो जोडाइबाट पुनःनिर्माण गर्ने विषयमा सरोकारवालाहरू सहमत भएका छन् ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले यसअघि नै सरोकारवालाहरूको बैठक राखी पुजारी मठ पुनःनिर्माण माटो जोडाइबाट गर्ने निर्णय गरिसकेको बताउनुभयो ।
मौलिक प्रविधि प्रयोग गर्ने विषयमा भक्तपुर नपा अग्रसर रहेको बताउँदै उहाँले सम्पदा संरक्षण र पुनःनिर्माण कार्यमा विज्ञहरूको राय–सल्लाहअनुसार नै अगाडि बढाइरहेको प्रष्ट पार्नुभयो ।
सम्पदा संरक्षण संवेदनशील विषय भएको बताउँदै उहाँले भक्तपुर नपाले विदेशी सहयोगविना नै यहाँका सम्पदाहरू पुनःनिर्माणमा जोड दिँदै आएको पनि बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले माटो जोडाइबाट पुनःनिर्माण गर्ने भनिएको पुजारी मठमा सुर्की चुना प्रयोग भएपछि पुनःनिर्माणको काम रोकिएको बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङले माटो जोडाइ प्रविधि भरपर्दो र बलियो हुने बताउँदै भूकम्प प्रतिरोधी सम्पदा निर्माणमा पुरातत्व विभागले जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले माटो जोडाइबाट पुजारी मठ पुनःनिर्माण हुनुपर्ने पक्षमा वडाबासीहरूमा रहेको बताउँदै वर्षाको समय नजिकिएसँगै निर्माण सामाग्रीहरूलाई सुरक्षित र व्यवस्थित गर्नेतर्फ जोड दिनुभयो ।
कन्जर्भेसन आर्किटेक्ट इ. सुदर्शनराज तिवारी र विज्ञ इन्जिनियर प्रेमनाथ मास्केले पुजारी मठ पुनःनिर्माणको सन्दर्भमा माटो जोडाइबाटै हुनुपर्नेमा आफूहरू सहमत भएको बताउँदै पुनःनिर्माणको समयमा प्रयोग हुने माटो र इँटाको गुणस्तरमा पनि सम्बन्धित सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख अरुणा नकर्मीले विज्ञहरूको राय–सुझावअनुसार मठ पुनःनिर्माण कार्य अगाडि बढाउनु उपयुक्त हुने धारणा राख्नुभयो ।
राष्ट्रिय कला संग्रहालय परियोजना प्रमुख एवम् संग्रहालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्नुभयो ।
कार्यक्रममा पुरातत्व विभागका स्ट्रक्चरल इन्जिनियर पुरुषोत्तम डंगोलले पुजारी मठ र कला संग्रहालयको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा पुरातत्व विभागका इ. विनिता भण्डारी, ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक चन्द्रकिरण कवां, निर्माण व्यवसायी प्रतिनिधि लगायतले बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा भक्तपुर दरबार क्षेत्रमा अवस्थित न्ह्यकं झ्या दरबार र लाल बैठक संरक्षणबारे पनि छलफल भएको थियो । छलफलमा लाल बैठकको संरक्षणका विभिन्न विकल्पहरुबारे सहभागीहरुले विचार प्रस्तुत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.