Explore news and happenings at Bhaktapur

सरस्वती विद्यागृह माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर । २०८० फागुन ११ गते, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. ९ लामगः स्थित सरस्वती विद्यागृह माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव शुक्रबार एक भव्य कार्यक्रमबीच सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विद्यालय तह उच्च शिक्षाको जग भएको बताउँदै भक्तपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै वडा वडामा शिशुस्याहार केन्द्र सञ्चालनदेखि आफ्नै पूर्ण स्वामित्वमा आधा दर्जन भन्दा बढी कलेजहरु सञ्चालन गरी कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
सरस्वती विद्यागृह कुनै समय भक्तपुरकै शैक्षिक केन्द्रको रुपमा रहेको बताउँदै विभिन्न आरोह अवरोध पार गर्दै वर्तमान समयमा विद्यालयले विद्यार्थीहरुलाई जीवनउपयोगी शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले गुणस्तरीय शिक्षा प्रदान गरी प्रत्येक विद्यार्थीलाई युग सुहाउँदो शिक्षा प्रदान गर्ने उद्देश्यका साथ नगरपालिका अगाडि बढिरहेको बताउँदै भक्तपुर नपाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुलाई समान ढंगले सहयोग गर्दै आइरहेको बताउनुभयो ।
सामुदायिक शिक्षालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले आजका नैतिकवान, योग्य र सक्षम विद्यार्थीबाट मात्रै भावी समाज सभ्य र सुसंस्कृत बन्ने विचार राख्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विद्यालयको प्रगति र उन्नतिको लागि विद्यालय व्यवस्थापन समितिले समन्वयकारी भूमिका खेल्दै आएको बताउँदै विद्यार्थीलाई गुणस्तरीय शिक्षा र अनुशासित बनाउने विषयमा पनि जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका पूर्व प्रअ दिनेश वैद्यले विद्यालयमा काम गर्दाको अनुभव सुनाउँदै विद्यालयले अझ प्रगतिउन्मुख काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संयुक्त परीक्षा समितिका सदस्य तथा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई अब्बल बनाउन र व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्न समिति क्रियाशील रहेको बताउँदै विद्यार्थीको उज्ज्वल भविष्यको लागि काम गरिरहेको बताउनुभयो ।
पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर मानन्धरले २००८ सालमा भक्तपुरको शैक्षिक उन्नयनको लागि स्थापित सरस्वती विद्यागृहले आजको सफलता प्राप्त गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीहरुको संयुक्त प्रयासले मात्र सम्भव भएको बताउनुभयो ।
विद्यालयका निमित्त प्रअ गनुराज राईले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा स्थानीय विद्यार्थीको संख्या न्यून रहेको बताउँदै विद्यालयमा कामदार वर्गका छोराछोरीहरु अध्ययनरत रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक राजन छुस्याबाग र विद्यार्थी प्रतिनिधि सन्देश नेपालीले पनि स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले विद्यालयको आयोजनामा भएको अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । सोही क्रममा प्रमुख प्रजापतिले वार्षिकोत्सवको अवसरमा प्रदर्शन गरिएका शैक्षिक प्रदर्शनीहरुको समेत अवलोकन गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.