Explore news and happenings at Bhaktapur

खेलकुद विद्यार्थीहरुको मानसिक र शारीरिक स्वास्थ्यको लागि

भक्तपुर । माघ २६ गते, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपाको आयोजनामा भइरहेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत खोखो प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासको लागि खेलकुदको निकै ठूलो भूमिका रहेको उल्लेख गर्दै अध्ययन र खेललाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले खेलकुद मनोरन्जन सँगसँगै व्यक्तित्व विकास गर्ने राम्रो अवसर पनि भएको बताउँदै भक्तपुर नपाले विद्यार्थीहरुलाई सक्रिय बनाउन यस किसिमका खेलकुद प्रतियोगिता आयोजनालाई जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले सहभागी र विजयी खेलाडीहरु बधाई ज्ञापन गर्दै खेलाडीहरुले देशको सार्वभौमिकता रक्षाको निम्ति खेल्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले नगरव्यापी विद्यालयस्तरीय र अन्तरनगर खेलकुद प्रतियोगितालाई नियमितता दिइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, पूर्व वडाध्यक्ष चन्द्रबहादुर उलक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल र वडा सदस्य कृष्णनारायण दुमरुले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल वितरण गर्नुभएको थियो ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खोखो प्रतियोगितान्तर्गत भएको फाइनल खेलमा छात्रतर्फ बागीश्वरी मावि प्रथम, बालविकास स्कूल द्वितीय, सरस्वती स्कूल र तारा मावि तृतीय भएका थिए । त्यस्तै छात्रातर्फ ब्राइटस्टार स्कूल प्रथम, सरस्वती स्कूल द्वितीय, मेधा स्कूल र तारा मावि तृतीय भएका थिए । खोखो खेलअन्तर्गत छात्रतर्फ उत्कृष्ट खेलाडी नविन सेन्चुरी र छात्रातर्फ मन्दिर राय हुन सफल भए ।

Leave A Reply

Your email address will not be published.