Explore news and happenings at Bhaktapur

भक्तपुरका पसल व्यवसायीहरुको भेला सम्पन्न

भक्तपुर । माघ २५

0
भक्तपुर नगरपालिका वडा नं. ९ अन्तर्गत च्याम्हासिंह ध्वाकादेखि दत्तात्रयसम्मका पसल व्यवसायीहरूको भेला बिहीबार सम्पन्न भयो ।
उक्त भेलामा नगर प्रमुख सुनिल प्रजापतिले अमेरिकी साम्राज्यवादद्वारा विगत ६५ वर्षदेखि नाकाबन्दी गरिए पनि समाजवादी देश क्युवाले जनताको साथ र सहयोगमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको चर्चा गर्दै भक्तपुरको जीवनशैली, कला संस्कृति र सम्पदालाई संसारकै उत्कृष्ट पर्यटकीय आकर्षण बनाउन सकिने बताउनुभयो ।
शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षणलगायतका कार्यमा भक्तपुरका जनताहरू धेरै अगाडि बढिसकेको उल्लेख गर्दै प्रमुख प्रजापतिले भक्तपुरलाई सौन्दर्यीकरण गर्दै बिहान, बेलुका र रातको समयमा समेत जीवन्त बनाउन सुरक्षा प्रबन्धको प्रत्याभूतिसँगै पर्यटनमैत्री बनाउन लागिपरेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले आर्थिक अवस्था कमजोर भएका श्रमजीवी जनताको हितलाई प्राथमिकता दिएको चर्चा गर्दै जनभावनाबमोजिम नगरपालिकाबाट भएका गतिविधिहरूबारे जानकारी दिनुभयो ।
वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पसल व्यवसाय नगरपालिकामा दर्ता गर्न आह्वान गर्दै बाटोमा हिँड्ने बटुवाहरूको सहजताको लागि पेटी तथा सडकमा मालसामान नबेच्न, छत नराख्न र जथाभावी सवारीसाधन पार्किङ नगर्न आग्रह गर्नुभयो ।
कार्यपालिका सदस्य छोरीमैंया सुजखूले नगरपालिकाका हरेक गतिविधिमा साथ र सहयोग गर्नुभएकोमा वडाबासीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नगरपालिकाको श्यानिटेशन उपशाखा प्रमुख दिलिपकुमार सुवालले नगरलाई सफा र सुन्दर बनाउन पसल व्यवसायीहरूले फोहरमैला स्रोतमै वर्गीकरण गरेर मात्र सफाइ गाडी र सफाइ कर्मचारीहरूलाई दिन अनुरोध गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.