Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिका ७५ वर्षमा प्रवेश

0
भक्तपुर नगरपालिका स्थापना भएको २०८० पुस २ गते ७५ औं वर्षमा प्रवेश ग¥यो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको ७४ औं स्थापना दिवसको अवसरमा आज नगरपालिकाको सभाकक्षमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै अतिथि बिजुक्छेँले जनप्रतिनिधि र कर्मचारीहरु आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रष्ट हुनुपर्ने बताउँदै कर्मचारीहरु राजनीतिक रुपमा सचेत र संगठित हुन जरुरी रहेको बताउनुभयो ।
प्रदेश सरकार प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जनतामा निराशा छाएको बताउँदै उहाँले प्रदेशका मुख्यमन्त्रीहरु जनताको समस्या सम्बोधन गर्नुभन्दा पनि ठूल्ठूला भवनहरु निर्माणमा आफ्नो समय खर्चिरहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायत नयाँ नयाँ विषयमा भक्तपुरलाई ‘टेष्ट ट्युब’को रुपमा विकास गर्न सके देशलाई नै फाइदा पुग्ने बताउँदै उहाँले नेपालमा संघीयताको सफल कार्यान्वयन हुन नसक्दा र स्वायत्तताको दुरुपयोग हुँदा देश विखण्डित हुने खतरा बढिरहेको बताउनुभयो ।
सांस्कृतिक नगर बनाउने विषयमा छलफल आवश्यक भएको बताउँदै उहाँले देशका शासकहरुले पुरानै शैलीमा शासन गर्न खोजेमा संघीयता असफल हुने खतरा निम्तिने बताउनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको इतिहासबारे प्रष्ट पार्दै निर्वाचन घोषणापत्रमार्फत जनतालााई दिएका बचनहरु एक एक गरी पूरा गर्न भक्तपुर नपाका जनप्रतिनिधिहरु कटिबद्ध भएर अगाडि बढिरहेको बताउनुभयो ।
संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी भक्तपुर नपाले आवश्यकताअनुसार ऐन, नियम, विनियम र कार्यविधि बनाई जनताको हितमा काम गर्दै आइरहेको चर्चा गर्दै उहाँले भक्तपुरलाई सफा, सुन्दर र विश्वकै हेर्नलायक नगर बनाउने काममा नगरपालिकासँगै जनताको पनि निरन्तर साथ र सहयोगको आवश्यकता औंल्याउनुभयो ।
राजनीतिलाई जनताको सेवा गर्ने नीतिअनुरुप भक्तपुर नपाका जनप्रतिनिधि र कर्मचारीहरु परिचालित रहेको बताउँदै प्रमुख प्रजापतिले निर्वाचनमा भाग लिई जनताको सेवा गर्ने नीतिअनुसार पञ्चायती व्यवस्थामा पनि अविचलित रुपमा जनतालाई राजनीतिक रुपले सचेत पार्ने अभियानमा नपा क्रियाशील रहेको प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका देशभरिका स्थानीय सरकारको लागि अनुकरणीय नगरपालिकाको रुपमा रहेको बताउनभुयो । उहाँले देशकै परिपक्व नगरपालिकाको रुपमा रहेको भक्तपुर नपाको गौरवपूर्ण इतिहासलाई कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्य स्थल र साँस्कृतिक नगर घोषणा गर्ने योजनासहित भक्तपुर नगर अघि बढिरहेको पनि सोही क्रममा बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सुशासन, कार्यशैली, कर्मचारी अनुशासन आदिमा भक्तपुर नपा अब्बल रुपमा प्रस्तुत भइरहेको बताउनुभयो ।
भक्तपुरलाई सफा र सुन्दर बनाउन यहाँका सफाइ कर्मचारीहरुको ठूलो भूमिका रहेको बताउँदै उहाँले भक्तपुर नपाले विदेशी सहयोगविना आफ्नै बलबुत्तामा भक्तपुरको विकास गर्नु नै यहाँको मुख्य विशेषता भएको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन, ई.स.का अध्यक्ष गौतमप्रसाद लासिवाले इमानदार र भ्रष्ट कर्मचारीहरुको पहिचान गरी आवश्यक पुरस्कार र दण्डको व्यवस्था हुनुपर्ने बताउँदै तालिम र प्रशिक्षणमार्फत कर्मचारीहरुको वृत्ति विकासमा ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा ख्वपका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले कलेज र अस्पताल स्थापनाको उद्देश्य र त्यसबाट प्रवाहित सेवा सुविधाहरुबारे अवगत गराउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियो भने भनपा–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
सोही क्रममा प्रमुख अतिथि बिजुक्छेँले सकिमना पुन्हीको दिन हलिमली ब्वज्या (नसा ब्वज्या) सम्बन्धी फोटो प्रतियोगिता र लघु वृत्तचित्र प्रतियोगिताका विजयीहरु नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
भक्तपुर नपाले सकिमना पुन्हि (२०८० मंसिर ११) को अवसरमा हलिमलि ब्वज्याको फोटो प्रतियोगितामा सुरेशराज शाक्य प्रथम, जयराम प्रजापति द्वितीय, किपा किजु डिजिटल फोटो तृतीय, उज्वल चन्द्र बुद्धाचार्र्यले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई रु. २० हजार, द्वितीय हुनेलाई रु. १५ हजार, तृतीय स्थान हासिल गर्नेलाई १० हजार र सान्त्वनालाई ७ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै भक्तपुरको मौलिक पहिचान झल्किने कला, साहित्य, संस्कृति, शिक्षा र स्वास्थ्यलगायतका विषयको लघु वृत्तचित्त प्रतियोगितामा ‘विश्वया उत्कृष्ट नमूना शहर ख्वप’ नामक ख्वप मिडिया सर्कलको प्रस्तुती रहेको लघुवृत्तचित्रका हरिकृष्ण दुवाल प्रथम, ‘क्वाटी’ का तुल्सीकेशरी बासी द्वितीय, ‘कला संस्कृति’ का अनिष वेंजु तृतीय, ‘बिस्का जात्रा’ का रबिन्द्र किजुले सान्त्वना पुरस्कार हासिल गरेका थिए । त्यस्तै प्रतियोगितामा प्रथम हुने विजेतालाई नगद रु. २५ हजार, द्वितीय हुनेलाई रु. २० हजार, तृतीय हुनेलाई रु. १५ हजार र सान्त्वनालाई रु. १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.